सिड्नी । अस्ट्रेलियाको तास्मानियामा सम्पन्न टिएनसीए टि ट्वान्टी च्याम्पियनसीप २०२३ को उपाधि तेश्रो पटक पनि गोर्खा लिजेण्ड्स क्रिकेट क्लवले चुमेको छ । क्लवले आफुलाई बलियो सावित गर्दै तेश्रो पटक पनि उपाधि जित्न सफल भएको हो । तास्मानियामा रहेका ८ वटा क्रिकेट क्लवको सहभागीता रहेको प्रतियोगीतामा फाइनल खेलमा क्यापिटल क्रिकेट क्लब विरुद्ध गोर्खाले १ सय २१ रनले विजयी भएको हो । टस जितेर पहिले ब्याटिङ रोजेको गोर्खा लेजेन्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २५२ रन बनाएको थियो । 

गोर्खाका लागि सर्वन कुमारले मात्र ४३ बलमा १०३ रनको रोमाञ्चक पारी खेले भने सतनाम सिंहले ३७ बलमा ६० रन बनाएका थिए । जवाफमा गोरखा लेजेन्ड्सको अथक बलिङको सामनामा लन्सेस्टन नेपाली क्रिकेट क्लबले ८ विकेट गुमाएर १ सय ३१ रन मात्रै जोडेको थियो । तास्मानिया नेपलिज क्रिकेट एशोसियसनले प्रत्येक वर्ष टि ट्वान्टी श्रृङ्खलामा क्रिकेट प्रतियोगीता आयोजना गर्दै आईरहेको छ । तास्मानिया राज्यमा नेपाली क्रिकेट फस्टाउँदै गएको अवस्थालाई मध्येनजगर गरेर स्थापना गरिएको एशोसियसनले २०२२ देखि लिग चरणका खेलहरु आयोजना गर्दै आईरहेको संयोजक पुनम पन्तले जानकारी दिईन् ।
साउथेन क्रिकेट एशोसियसनबाट २०२२ देखि लिग चरण खेल्न लागेको र अहिले दोश्रो सेसनको प्रतियोगीता सम्पन्न भएको उनले बताईन् । विभिन्न भुभागमा रहेका सबै क्रिकेट क्लवहरुबीचको प्रतिष्प्रधा गराउने र क्रिकेटलाई अगाडी बढाउने उद्धेश्यले प्रतियोगीता आयोजना गरिएको उनको भनाई छ । तास्मानिया भित्र रहेका ८ वटा क्रिकेट क्लव मध्ये यस वर्ष पनि गोर्खा लिजेण्ड प्रभावशाली क्लवको रुपमा उपाधि जित्दै आफुलाई अब्बल सावित गर्न सफल भएको क्लवका अध्यक्ष प्रकाश उप्रेतीले जानकारी दिए । सन् २०१६ मा स्थापित क्लवले अस्ट्रेलियामा आयोजना हुने विभिन्न प्रतियोगीता समेत जित्दै आएको उनले बताए ।







