सिड्नी । नेपालको मधेस मुल स्थायी घर भई हाल अस्ट्रेलियाको भिक्टोरिया राज्यमा रहेका मधेसीहरुको संगठन मधेशी कम्युनिटी इन भिक्टोरिया (एमसीभि) को अध्यक्षमा रञ्जित शाह चयन भएका छन् । १७ फेब्रुअरी शनिवार मेलवर्नमा सम्पन्न संस्थाको बार्षिक साधारण सभाबाट शाहको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत चयन गरिएको हो ।
नवगठित समितिको उपाध्यक्षमा राजेश जयसवाल, सचिवमा दिपेन्द्र चौधरी र कोषाध्यक्षमा एकता जयसवाल चयन भएका छन् । त्यस्तै कार्यसमिति सदस्यहरुमा आर्यन सुरज राउत, संजय कुमार मंडल, राज शर्मा, बाबु यादव, अंकित कुमार सिंह, धिरेन्द्र यादव र संजिव जयसवाल लगायत रहेका छन् । अध्यक्षमा निर्वाचित भएपश्चात शाहले संस्थाको उद्धेश्य बमोजिम बार्षिक कार्यक्रमलाई अझ शसक्त बनाउँदै सामाजिक कार्यहरुमा बढी क्रियाशिल हुने बताए । उनले भिक्टोरियामा बढ्दो मधेशी समुदायको उपस्थितिकाबीच आफ्नो मौलिक संस्कृति, परम्परा र चाडपर्वको संरक्षण र प्रवद्र्धनका लागि विशेष कार्यक्रमहरु सञ्चालन गरिने स्पष्ट पारे । कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष डा.सुरेन्द्र रौनियारले आफ्नो कार्यकालको उपलब्धि र कार्यप्रगति सुनाउदै नयाँ कार्य समितिलाई बधाई तथा शुभकामना व्यक्त गरे ।
सभामा निवर्तमान कोषाध्यक्ष प्रमोद पटेलले संस्थाको आयव्यय विवरण प्रस्तुत गरेका थिए । भने विधार्थी संयोजक आर्यन राउतले आफ्नो कार्यकालमा विधार्थीहरुको हकहितको लागि भएका कार्यहरु र उपलब्धी प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि तथा एशोसिएसन अफ नेपाल तराई इन अष्ट्रेलिया (एन्टा) का अध्यक्ष रञ्जित साहले नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना सहित छिट्टै पहल गरेर अष्ट्रेलिया भरिकै सबै राज्यमा रहेका मधेशीहरुको संस्थालाई एउटै छाता मुनी ल्याउन पहल गर्ने र सबैलाई समेटेर एउटा एकिकृत संस्था बनाउने बताए । हाल न्यु साउथ वेल्समा एन्टा, भिक्टोरियामा एमसिभि र क्यानवेरामा रितेश कुमारको नेतृत्वमा मधेशी सोसाइटि इन क्यानवेरा (एम.एस.सी) संस्थाहरु रहेका छन् ।






