सिड्नी । तामाङ सोसाईटी अफ् सिड्नीले सोनाम ल्होछार भव्य रुपमा मनाउने भएको छ । ल्होछारको अवसरमा प्रत्येक वर्ष विशेष कार्यक्रम गर्दै आएको समाजले यसवर्ष पनि १० फेब्रुअरी शनिबारका दिन मरना अडीटेरियम हर्सभिलमा विशेष कार्यक्रमहरुका साथमा मनाउन लागेको तामाङ सोसाईटी सिड्नीका सहअध्यक्ष अविरल तामाङले जानकारी दिए ।
तामाङ समुदायको धर्म, संस्कृति र भेषभूषा जोगाई राख्न बृहत सांस्कृतिक कार्यक्रम सहित अन्य मौलिकता झल्किने कार्यक्रमहरु रहने तामाङको भनाई छ । कार्यक्रममा स्थानीय कलाकारहरु संगै दिल तामाङको सागींतिक प्रस्तुती तथा लामा पुजा, कल्चरल डान्स, नृत्य र गायनका कार्यक्रमहरु, नेपाली खानाका परिकार लगायतका अन्य विविध मनोरञ्जनात्मक कार्यक्रहरु रहने तामाङले जानकारी दिए । कार्यक्रममा नेपाली पहिलो महिला काउन्सिलर भद्र वाईबा लगायत एनआरएनए, निन्फा सहितका अन्य नेपाली समुदायका अगुवाहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहने आयोजकले जनाएको छ । अघिल्लो वर्ष ३ दिन अगाडी नै टिकट बिक्री सकिएको भन्दै यस वर्ष पनि त्यस्तै किसिमबाट टिकट गईरहेको आयोजकको भनाई छ । निश्चित टिकट बुकिङ हुने भएकाले समयमै सम्पर्क गर्न समेत अनुरोध गरिएको छ । समाजले सन् २००९ देखि निरन्तर ल्होछार कार्यक्रम गर्दै आएको छ । कार्यक्रमलाई दर्जनौँ सघंसंस्थाले प्रायोजन गरेका छन् । तामाङ समुदायको मात्रै नभएर सबैको साझा पर्व रहेकाले कार्यक्रममा उपस्थित हुन उनले सबैसगं अनुरोध समेत गरिएको छ ।






