काठमाडौं, १२ आषाढ । वैदेशिक रोजगार व्यवसायीहरुले श्रम मन्त्रालयले हचुवाको भरमा ६ ओटा खाडीमुलुक र मलेसियामा निःशुल्क भिसाको व्यवस्था गर्न लागेको भन्दै विरोध गरेका छन् । शनिबार राजधानीमा भएको कार्यक्रममा व्यवसायीहरुले आफूहरुसँगको परामर्श बिना नै निःशुल्क भिसा प्रणाली लागू गर्न खोजेको भन्दै विरोध जनाएका हुन् । ‘वैदेशिक रोजगारीमा शून्य लागतले रोजगारीका लागि विदेश जाने कामदारलाई नै असर पर्ने भन्दै व्यवसायीहरुले विरोध जनाएका छन् ।
वैदेशिक रोजगार व्यवसायी महासङ्घको २३औँ साधारणसभा यही असार १७ गते हुने भएको छ । साधारणसभाको पूर्वसन्ध्यामा रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा उम्मेदवारले आफ्ना भावी योजना र विचार प्रस्तुत गरे । उम्मेदवार किरणकिशोर घिमिरेले नेपालमा रोजगारीको अभावका कारण ५९ प्रतिशत युवा रोजगारका लागि खाडी मुलुकमा जाने जानकारी दिँदै तिनको समस्या समाधानका लागि दूरदृष्टि भएको नेतृत्व आवश्यक रहेकामा जोड दिनुभयो ।
प्रगतिशील व्यवसायीका तर्फबाट उम्मेदवारसरोज पोखरेलले देशमा २६ प्रतिशतभन्दा बढी विप्रेषण भित्र्याउने वैदेशिक रोजगार व्यवसायलाई सरकारले उपेक्षा गर्न नहुने बताउँदै सरकारले वैदेशिक रोजगारलाई व्यवस्थित बनाउनका लागि ठोस नीति ल्याउनुपर्र्ने सुझाव दिनुभयो । अर्का उम्मेदवार विमल ढकालले वैदेशिक रोजगारको अवस्था नाजुक रहेकाले सङ्गठनमा राम्रो नेतृत्व चयन हुनुपर्ने औँल्याउनुभयो । तीस वर्षमा महासङ्घले पाँच लाख २७ हजार कामदारलाई विदेश पठाएको बताइएको छ ।
निःशुल्क वैदेशिक रोजगारीको व्यवसायीद्धारा विरोध






