एन्टा अष्ट्रेलियाको साधारण सभा सम्पन्न, रजिंत शाह अध्यक्षमा निर्वाचित

सिड्नी । अस्ट्रेलियामा रहेका तराई बासीहरुको साझा संगठन एशोशिएसन अफ नेपाल तराई इन अष्ट्रेलिया (एन्टा) को अध्यक्षमा  रंजित साह निर्वाचित भएका छन् । १० सेप्टेम्बर शनिबार  सिड्नीको ग्रानभिलमा सम्पन्न एशोशिएसनको वार्षिक साधारण सभाबाट साह सर्वसम्मत रुपमा अध्यक्ष पदमा निर्वाचित भएका हुन् । अध्यक्ष पदका लागि मनोनयन दर्ता गराएका अन्य २ जनाले निर्वाचन अगाडी नै मनोनयन फिर्ता लिएपछि साह दुई वर्षे कार्यकालका लागि निर्वाचित अध्यक्ष पदमा निर्वाचित भएका हुन् । अध्यक्ष सहित कार्यसमितिका अन्य सबै पदाधिकारी निर्विरोध चयन भएका छन् ।

नवगठित समितिको उपाध्यक्षमा परमानन्द साह, महासचिवमा विकास झा, कोषाध्यक्षमा सुरेन्द्र साह, कार्यक्रम संयोजकमा राकेश साह र सह-कोषाध्यक्षमा रंजित दास सर्वसम्मत चयन भएका हुन् । त्यस्तै कार्यसमिति सदस्यमा आरती साह, मोहम्मद सैफअली खान, प्रिया गुप्ता र विजयकुमार साह रहेका छन् । साधारण सभामा डेढ सय जनाको उपस्थिति रहेको थियो ।

अध्यक्ष पदमा निर्वाचित भएपश्चात लण्डन नेपाल न्यूज अस्ट्रेलियासंग कुरा गर्दै अध्यक्ष शाहले आफुले विगतका अनुभव र भावि कार्ययोजना समेत बनाएर संस्थालाई थप सशक्त बनाएर लैजाने प्रतिबद्धता व्यक्त गरे । उनले एन्टालाई राष्ट्रिय स्तरको समिति गठन गरेर विद्यार्थीहरुलाई सहुलियत हुने र सचेत गराउने खालका कार्यक्रमहरु सञ्चालन गर्ने बताए । एशोशिएसन अफ नेपाल तराई इन अष्ट्रेलिया (एन्टा) न्युसाउथ वेल्स राज्यमा दर्ता भएको मधेशी समुदायको पहिलो र सबैभन्दा पुरानो संस्था हो ।