दक्षिणी सुडानमा भोकमरी

जुबा, १२ असार । दक्षिणी सुडानको युद्धक्षेत्रयुक्त राज्यका नागरिकहरु भोकमरीका कारण मर्न थालेका र आउँदा दिनमा परिस्थिति अझै नराम्रो हुने जानकारी अनुमगनकर्ताहरुले दिएका छन् । दक्षिणी युनिटी राज्य र अपर नाइल राज्यका केही भागहरुमा सङ्घर्ष गहन भएको, त्यहाँबाट दशौँ हजार व्यक्ति विस्थापित भएको र त्यहाँ आपत्कालका अवस्थामा मानवीय पहुँच बन्द भएको अमेरिकाले कोष उपलब्ध गराएको पूर्व चेतावनी प्रणाली सञ्जालले यसै साता प्रकाशित पछिल्लो प्रतिवेदनमा उल्लेख गरेका छ ।
एकीकृत खाद्य सुरक्षा चरण वर्गीकरण नाम दिइएको प्राविधिक मापन अनुसार यस क्षेत्रका ठूलो भाग आपत्कालीन तथा चौँथो चरणमा पुगेको बताइएको छ । यस मापनमा भोकमरी पाँचौँ चरणमा पर्छ । एएफपीले शुक्रबार अध्ययन गरेको प्रतिवेदनमा द्वन्द्वले सबैभन्दा नराम्रोसँग प्रभावित क्षेत्रमा केही घरपरिवारले भोकमरी भोगेको भनी उल्लेख गरिएको छ । प्रतिवेदनमा दक्षिणी युनिटीमा खाद्यान्न सहयोग बन्द भएमा र खाद्यान्न असुरक्षा कायम रहेमा दुई महिनापछि त्यहाँका अनेकौँ घरले भोकमरी भोग्ने बताइएको छ ।
प्रतिवेदनमा युनिटी तथा अपर नाइल क्षेत्रमा रहेका घरपरिवार भोकमरीको अवस्थामा मर्न थालेको हुनसक्ने पनि उल्लेख गरिएको छ । केही क्षेत्रमा कुपोषणको स्तरको भोकमरीको अवस्था देखिए पनि अनुगमनकर्ताहरुले भोकमरी भनी औपचारिक रुपमा घोषणा गरेका छैनन् । उनीहरुले यहाँका जनसङ्ख्याले प्राविधिक रुपमा भोकमरीको पाँचौँ अवस्था भोगिनसकेको बताएका छन् ।
सन् २०१३ मा राष्ट्रपति साल्भा किरले आफ्ना उपराष्ट्रपति रिक माचारले सैनिक विद्रोहको योजना बनाइरहेको आरोप लगाएपछि मुलुकभर हत्याको चक्र चलेको छ र यो गरिबीले प्रभावित भूपरिवेष्ठित मुलुकलाई जातीय रुपमा विभाजित गरेको छ । यहाँका एक करोड २० लाख जनतामध्ये एकतिहाईलाई सहयोगको आवश्यकता रहेको संयुक्त राष्ट्र सङ्घले जानकारी दिएको छ ।
प्रतिवेदनमा सहयोगबाट बाहिर पुगेका क्षेत्रमा यसअघि अनुमान गरिएभन्दा जुन, जुलाईमा खाद्यान्न असुरक्षा निकै नराम्रो भएको र यहाँका घरपरिवारहरु बढ्दो रुपमा भोकमरीको चपेटामा पर्नसक्ने देखिएको उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदनमा आर्थिक पतन तथा बढ्दो मुद्रास्फीतिका कारण खाद्यान्नको मूल्य नाटकीय रुपमा बढेको र ज्वार अन्नको मूल्य पनि ९० प्रतिशतले बढेको उल्लेख गरिएको छ । सङ्घर्षको आरम्भदेखि नै यहाँका जनता प्रभावित हुन थालेको बताइएको छ । एक वर्ष अगाडि दाता संस्थाहरुले ठूलो मात्रामा हस्तक्षेप गरी युद्धबाट प्रभावित तीन राज्यलाई भोकमरीबाट जोगाएको बताइएको छ ।