अर्जेन्टिना सेमिफाइनलमा

चिली, १२ असार । रोमान्चक खेलमा कोलम्बियालाई पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिका फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चिलिमा जारी प्रतियोगिता अन्तर्गत शनिबार बिहान सम्पन्न तेस्रो क्वाटर फाइनल खेलमा निर्धारित ९० मिनेटसम्म दुबै टोलीले कुनै गोल गर्न नसकेपछि खेल पेनाल्टी सूटआउटमा गएको थियो । तर पेनाल्टी सूटआउटमा पनि दुबै टोलीले समान ४–४ गोल गरेपछि निर्णयका लागि खेल सडन डेथमा गयो । सडन डेथको पहिलो प्रहारमा दुबै टोलीले गोल गर्न सकेनन् । दोस्रो प्रहारमा पनि कोलम्बियाका खेलाडी गोल गर्नबाट चुकेपछि आएका अर्जेन्टिनाका कार्लोस टेभेजले बललाई जाली चुमाउदै अर्जेन्टिनाको जित पक्का गरे । यसअघि निर्धारित ९० मिनेटको खेलमा १४ पटकको उपाधि विजेता अर्जेन्टिनाले प्राप्त अवसरहरुलाई सदुपयोग गर्न सकेन ।
कोलम्बियाका डिफेन्डरहरुले उत्कृष्ट प्रदर्शन गर्दै अर्जेन्टिनाको आधा दर्जनभन्दा बढी सशक्त प्रहार विफल पारे । खेलमा सिर्जेका केही राम्रा अवसरलाई गोलमा परिणत गर्न कोलम्बिया पनि चुक्यो । प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेल आइतबार बिहान ब्राजिल र पाराग्वेबीच हुनेछ । ब्राजिल र पाराग्वेबीचको बिजेताले सेमिफाइनलमा अर्जेन्टीनाको सामना गर्ने छ ।