नेपलिज मल्टीकल्चर सेन्टर भवन निर्माणका लागि च्यारिटी डिनर सम्पन्न

 सिड्नी । साउथवेस्ट नेपलिज कम्युनिटी सेन्टर टास्कफोर्सले सिड्नी नेपलिज मल्टीकल्चर सेन्टर सामुदायिक भवन निर्माणका लागि च्यारिटी डिनर कार्यक्रम सम्पन्न गरेको छ । नेपाली समुदायको बहुसांस्कृतिक सामुदायिक भवन निर्माण गर्ने प्रमुख उद्धेश्य सहित अगष्ट १८ शुक्रवार एडेन पार्टी प्यालेस अर्लवुडमा च्यारिटी डिनर कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा साउथवेस्ट नेपलिज कम्युनिटीका महासचिव सुरेश रेग्मीले स्वागत मन्तव्य व्यक्त गर्दै कार्यक्रमबारे प्रष्ट पारेका थिए । कार्यक्रममा साउथवेस्ट नेपलिज कम्युनिटी सेन्टर टास्कफोर्सका सचिव डा. प्रकाश पौडेलले कार्यक्रमको परिकल्पना, भावी प्रक्रिया र कार्ययोजनाका बारेमा वृतचित्र सहित कार्यपत्र प्रस्तुत गरेका थिए । नेपाली भाषा, कला, संस्कृति, सनातन संस्कार र परम्परागत शैली झल्काउने बहुसांस्कृतिक नेपाली सामुदायिक भवनको निर्माणको अभियानलाई सार्थकता दिन कार्यक्रमको आयोजना गरिएको  सचिव  पौडेलले बताए ।
उक्त कार्यक्रममा साउथवेस्ट नेपलिज कम्युनिटी अध्यक्ष एवं कम्युनिटी सेन्टरका टास्कफोर्सका संयोजक सुदिप ढकालले कार्यक्रम अत्यन्तै वृहत उद्धेश्य सहित अगाडी बढेको भन्दै अस्ट्रेलियामा रहेका सबै नेपालीहरुको वृहत सहयोगको अपेक्षा समेत गरे । उनले सिड्नीका सबै नेपाली दाजुभाई दिदी बहिनीहरुलाई समेटेर अगाडी बढ्ने बताउँदै कार्यक्रम सफल पार्न सिड्नी साथै यस न्यु साउथ वेल्स राज्यमा बस्ने सम्पूर्ण नेपालीहरुको साथ र समर्थनका लागि आग्रह गर्दै सम्पूर्ण सामाजिक संस्थाहरुसंगको सहयोग र सहकार्यताका साथ आगाडी बढ्ने बताए त्यस भेगमा लामो समयदेखि सामुदायिक भवन निर्माणको योजना अगाडी सार्दै आएको भएपनि हालसालै मात्र यसले सार्थकता पाउनेगरि काम हुन थालेको टास्कफोर्स संयोजक ढकालले थपे ।
त्यसैगरि एनआरएनए अस्ट्रेलियाका अध्यक्ष नन्द गुरुङले कार्यक्रम निकै महत्वपूणर् संगै वृहत्तर रहेको भन्दै न्यू साउथ वेल्समा रहेका नेपालीहरुको उद्धेश्य बमोजिम संस्थाले सुरु गरेको अभियानमा एनआरएनएले पनि सहयोग गर्दै जाने बताए । एनआरएनए अस्ट्रेलियाका नवनिर्वाचित अध्यक्ष अनिल पोखरेलले कार्यक्रमलाई एनआरएनएले पनि महत्वका साथ लिएको भन्दै आफुहरुले पनि सक्दो सहयोग गर्ने र सबै संग सहकार्य गरि परियोजना सफल पार्न एनआरएनएले समन्वयकारी भूमिका खेल्ने बताए । पहिलो सत्रको औपचारिक कार्यक्रम डा पौडेलले समापन गरे संगै शुरु भएको सांगीतिक कार्यक्रमको सञ्चालन कल्याणी बर्तौलाले गरेकी थिईन । कार्यक्रममा साउथवेस्टमा बस्ने स्थानीय गायकहरु ईश्वर पोखरेल अविरल, सञ्जिव पराजुली, सुजाता उपाध्याय र रमन रेग्मी लगायतका कलाकारहरुले आफ्नो गायन एवं सांगीतिक प्रस्तुती दिएका थिए ।  नेपाली राष्ट्रिय गानबाट शुरुवात भएको उक्त कार्यक्रममा नेपाली सांस्कृतिक नृत्यको आकर्षक प्रस्तुति शब्दमाला नेपाली भाषा विद्यालय मक्वारी फिल्ड्सक विधार्थीहरु श्रेया पौडेल, आरुषी पोख्रेल, आरोही पोख्रेल र शालीन पराजुलीले गरेका थिए भने  सरिना सैजुले आकर्षक नेपाली निर्त्य प्रस्तुत गरेकी थिईन।
 सिड्नीका ग्रान्भिल र पेन्सहुर्स्ट रिभरउडमा पनि सामुदायिक भवन बनाउने कार्ययोजना धेरै वर्ष देखि चलेको भए पनि नेपाली समुदायकै स्वामित्व रहने गरी बृहत रुपमा नेपालीपन झल्किने बहुसांस्कृतिक भवन निर्माण गर्न लागिएको सिड्नीमा यो नै पहिलो प्रयास हो । सामुदायिक भवन भित्र बौद्ध स्तुपा, मन्दिर, मौलिक कला एवं सांस्कृतिक केन्द्र लगायतका संरचना बनाउँदै लैजाने योजना रहेको र विस्तारै ती उद्धेश्य पुरा गर्न समितिले काम गर्ने र छिटै नै गैरमुनाफामुलक सामजिक संस्था दर्ता गरि बृहत छलफल र कार्ययोजना अनुसार आगाडी बढ्ने साउथवेस्ट नेपलिज कम्युनिटी सेन्टरको टास्कफोर्सले जनाएको छ। उक्त कार्यक्रम भएको केहि दिनमै कार्यक्रमबाट भएको आयआर्जन र खर्च विवरण प्रस्तुत गर्दै कुल सत्र सय डलर संस्थालाई जोगाउन सफल भएको त्यस संस्थाको फेसबुक पेजबाट जानकारी गराईएको थियो ।सो कार्यक्रममा सिड्नीमा रहेको विभिन्न सामाजिक संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरु, एनआरएनए अस्ट्रेलियामा बिगतमा विभिन्न आहोदामा रहेर काम गर्नु भएका व्यक्तित्वहरु साथै हालै निर्वाचित एनआरएनए अस्ट्रेलियाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो।