काठमाडौं, १० आषाढ । तनावपूर्ण खेलमा उरुग्वेलाई १-० ले हराउँदै आयोजक चिली कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । विहीबार बिहान भएको खेलमा चिलीलाई विजयी गराउन माउरिसियो ईस्लाले ८१ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । प्रतिबन्धित खेलाडी लुइस सुवारेजको अनुपस्थितिमा साविक विजेता उरुग्वेको आक्रमण समालेका एडिन्सन काभानी ६३ औं मिनेटमा दोहोरो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि टोली १० जनामा सेमटियो ।
यसपछि १-० ले पछि परेको अवस्थामा उरुग्वे झनै आक्रामक बन्यो । ९० औं मिनेटमा योर्गे फसीले दोहोरो पहेंलो कार्ड खाँदै बाहिरिएपछि टोली ९ जनामा समेटियो । यसको केही समयसम्म दुबै टोलीका खेलाडी तथा प्रशिक्षकहरुसमेत एक अर्का विरुद्ध जाई लागेपछि रेफ्रीलाई खेल सुचारु गर्न हम्मे परेको थियो । केही सयमपछि सुचारु भएको खेलमा उरुग्वेले गोल फर्काउन नसकेपछि खेल चिलीले १-० ले जित्यो ।
दक्षिण अमेरिकी महादेशकै सबैभन्दा ठूलो कोपा अमेरिका फुटबल प्रतियोगिताको दोस्रो क्वाटरफाइनल खेलमा शुक्रबार बोलिभिया र पेरु, शनिवार अर्जेन्टिना र कोलम्बिया तथा आइतबार ब्राजिल र पाराग्वे भिड्ने छन् ।
चिली कोपा अमेरिका फुटबलको सेमिफाइनलमा






