पाकिस्तानको घातक गर्मीको लहर साम्य हुने सङ्केत

कराची, १० असार । पाकिस्तानको दक्षिणी भागमा गर्मीको लहरबाट मर्नेको सङ्ख्या बुधबार ७५० पुगेको छ । यसबीच यो घातक गर्मी विस्तारै कम हुने सङ्केत देखिएको छ र यसले कराची नगरमा केही राहत पुग्ने अनुमान गरिएको छ । सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको र पाकिस्तानको सबैभन्दा ठूलो नगरको तापक्रम हालका दिनमा ४० डिग्री सेल्सियसभन्दा नाघे पनि अब ३८ डिग्री पुग्ने अनुमान गरिएको छ ।
पाकिस्तानको जलवायु कार्यालयले हावा दक्षिणपश्चिमतर्फ सरेको र त्यसका कारण अरेबियाली सागरबाट चिसो हावा यस बन्दरगाहयुक्त नगरमा बहन थालेको जानकारी दिएको छ । यस कार्यालयले वर्षा हुने अनुमान गरेको छ र यसबाट तापक्रम घट्ने अनुमान गरिएको छ । सिन्ध प्रदेशको सरकारले यहाँका वासिन्दालाई घाममा बाहिर जान नदिन अभिप्रेरित गर्न सार्वजनिक बिदा घोषणा गरेकाले सँधै व्यस्त रहने गरेका नगरका सडकहरू बुधबार खाली देखिएका छन् ।
अस्पतालमा आपत्काल लागू गरिएको छ र लू तथा निर्जलीयकरणबाट प्रभावित हजारौँ व्यक्तिको उपचारमा अस्पतालहरू खटेका छन् । प्रान्तीय स्वास्थ्य मन्त्रालयका एक अधिकारीले गत राती लूका कारण मर्नेको सङ्ख्या ७५० पुगेको जानकारी दिए ।