लन्डनमा ६ अगस्टमा ब्रिटिश नेप्लिज प्रिमियर लिग क्रिकेट हुंदै-६ टिमले प्रतिस्पर्धा गर्ने(भिडियो हेर्नुस)

लन्डन । लण्डनमा दोस्रो ब्रिटिश नेप्लिज प्रिमियर लिग क्रिकेट प्रतियोगिता हुने भएको छ । साउथलस्थित ‘लन्डन टाईगर स्पोर्ट भेन्यू’ मा अगस्ट ६ तारिखमा प्रतियोगिता हुन लागेको हो ।

आइतबार लन्डन बोस्टन म्यानरस्थित नेपाल रेस्टुरेन्टमा आयोजित पत्रकार सम्मेलनमा लिगको मुख्य आयोजक ‘केटीएम ट्राभल एन्ड टुर्स’ का अपरेसन डाइरेक्टर सुनिल थापाले साउथलस्थित लन्डन टाइगर स्पोर्टस् भेन्यूमा प्रतियोगिता तयारी भएको जनाए । थापाले प्रतियोगितामा खुकुरी क्रिकेट क्लब, एडिनबरा फायरबल, लन्डन सुपर स्पोर्टस, नयाँ युवा क्रिकेट क्लब, गोर्खा क्रिकेट क्लब र मिडल्यान्ड वारियर्ससहित ६ टिमले प्रतिस्पर्धा गर्ने बताए ।

दोस्रो संस्करण पहिलो भन्दा परिष्कृत गराइने जनाउँदै सुनिल थापाले प्रतियोगिता हेर्न आमदर्शकहरूलाई आमन्त्रण समेत गरेका छन् । प्रवेश र कार पार्क नि:शुल्क गरिएको छ । पत्रकार सम्मेलनमा टुर्नामेन्ट डाइरेक्टर विनोदविकास सिम्खडाले अन्तर्राष्ट्रियस्तरको मैदान, एम्पायर र खेल हुने जानकारी दिए ।

प्रतियोगिता बिहान ८ बजे सुरु भएर अपरान्ह ७ बजेसम्म निरन्तर हुनेछ । सबै टिमले कम्तीमा दुईवटा खेल्ने र फाइनलमा पुग्नेले थप एक खेल खेल्ने सिम्खडाले बताए । प्रतियोगितामा प्रतिटिम ८ खेलाडी, प्रतिइनिङ ८ ओभर खेल, पिंक बल र इंग्ल्यान्ड क्रिकेट बोर्डमा दर्ता भएका एम्पायरहरूको व्यवस्था गरिएको सिम्खडाले बताए । उनले प्रतियोगिता अवलोकनका लागि स्थानीय सांसद वीरेन्द्र शर्मा, लन्डनस्थित नेपाली दूतावास प्रतिनिधिलगायत करिब तीन हजार दर्शक सहभागी रहने अपेक्षा गरिएको पनि जानकारी दिए ।

मार्केटिङ डाइरेक्टर अभिषेक भट्टराईले क्रिक्रेट प्रतियोगितामात्र नभएर त्यस दिन नयाँ र स्थापित नेपाली व्यवसायको शोकेस, पारिवारिक भेटघाट, डिजे, बाउन्सी क्यासल, स्ट्रिट फुड, कमर्सियल स्टलको व्यवस्था गरिने भट्टराईले बताए । ‘हाम्रो उद्देश्य व्यापारिक मुनाफाभन्दा पनि सामुदायिक एकता हो,’ भट्टराईले भने, ‘नेपालले क्रिकेटका माध्यमबाट अन्तर्राष्ट्रिय स्तरमा आफूलाई चिनाइरहेको अवस्थामा बेलायतमा समेत नेपाली क्रिकेटर रहेछन् भन्ने सन्देश इभेन्टबाट जाने विश्वास हाम्रो छ ।’

आयोजकले प्रतियोगिताका विजेतालाई अहिलेसम्मकै आकर्षक राशिको पुरस्कार दिइने जनाएका छन् । उत्कृष्ट प्रदर्शन गर्ने ६ जना खेलाडीलाई प्रोत्साहनस्वरूप प्लेयर अफ द म्याच, प्लेयर अफ द फाइनल, बलर अफ द टुर्नामेन्ट, ब्याटर अफ द टुर्नामेन्ट, बेस्ट क्याच अफ द टुर्नामेन्ट, प्लेयर अफ द सिरिजलगायत विद्यामा पुरस्कारसमेत दिइने छ ।