सिड्नी । तामाङ सोसाईटी अफ सिड्नी एनएसडब्ल्यूको नयाँ कार्यसमिति चयन भएको छ । २५ जुन शनिवार सिड्नीको क्यान्टवरी हलमा सम्पन्न महाधिवेशनले विशाल तामाङको अध्यक्षतामा १८ सदस्यीय नयाँ कार्यसमिति निर्माण गरेको हो ।
नवगठित समितिको सह अध्यक्षमा अविरल तामाङ, उपाध्यक्षहरुमा ज्ञानक वाईवा, योञ्ज लामा, महासचिवमा दिनेश कुमार लामा, सचिवमा सुवास लामा, कोषाध्यक्षमा सोनम तामाङ र सह कोषाध्यक्षमा डोमा तामाङ लगायत रहेका छन् । त्यस्तै युवा संयोजकमा कमल तामाङ, संस्कृति संयोजकमा मोवित तामाङ, संस्कृति सहसंयोजकमा कुनसंग घिसिङ लगायत रहेका छन् । नवगठित समितिको सदस्यहरुमा सञ्जय तामाङ, अनिल तामाङ, अनु लामा, फुर्वा छिरिङ लामा तामाङ, नरेश लामा, किशोर तामाङ र सरु लामा लगायत रहेका छन् ।

अध्यक्षमा निर्वाचित भएपश्चात लण्डन नेपाल न्यूजसगं कुराकानी गर्दै तामाङले वृहत रुपमा सदस्यता वितरण अभियान सञ्चालन गरी संस्थामा आवद्धता बढाउने र र अझै सक्रिय रुपमा अगाडी बढ्ने प्रतिक्रिया दिए । उनले तामाङ संस्कृति, भाषा र कलालाई जगेर्ना गर्ने र प्रोत्साहन गर्ने गरी छिट्टै कार्यक्रम गर्ने तैयारी समेत रहेको जानकारी दिए । २०१६ देखि सोसाईटीको सदस्यता दिएका तामाङ सचिव,उपाध्यक्ष हुँदै हाल अध्यक्षमा निर्वाचित भएका हुन् ।

उनले संस्थालाई आजको दिनसम्म ल्याउन विभिन्न संघर्ष गर्ने पूर्व कार्यसमितिका पदाधिकारीहरुलाई धन्यवाद समेत व्यक्त गरे । तामाङहरूलाई एकीकृत गर्दै सामाजिक, संस्कृति संरक्षण र प्रवर्धन गर्दै आईरहेको संस्थाले आगामी दिनमा तामाङ समुदायका लोपोन्मुख कला संस्कृति र भाषालाई संरक्षण गर्न अझै वृहत रुपमा कार्यक्रमहरु सञ्चालन गर्ने जनाएको छ ।
कार्यसमिति चयन महाधिवेशनमा निन्फाका अध्यक्ष सुदर्शन थापा मगर, पुर्व अध्यक्ष अरुण तामाङ, किरात याक्थुम चुम्लुङका उपाध्यक्ष चित्र बहादुर तुम्बाहाम्फे, तामाङ सोसाईटी अफ सिड्नीका निवर्तमान अध्यक्ष सुनदोर्जे तामाङ, सल्लाहकार नीमा वम्जन, तमु समाज सिड्नीका हिउपती गुरुङ लगायतले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए।







