ऐतिहासिक बन्यो नेपाल फेस्टिबल डार्बिन २०२३

सिड्नी । नेपाली विविधता र सगम्र नेपाल बोल्ने नेपाल फेस्टिबल अष्ट्रेलियाको डार्बिनमा  नेपाल फेस्टिबल डार्बिन २०२३ भव्य रुपमा सम्पन्न भएको छ । अस्ट्रेलियाका विभिन्न सहरमा प्रत्येक दुई/दुई वर्षमा सम्पन्न हुँदै आइरहेको नेपाल फेस्टिबल डार्बिनमा भने त्यहाँको सरकारले सहयोग गरेपछि बार्षिक रुपमा आयोजना हुँदै आएको छ । दिउँसो ३ बजेबाट प्रभात परेडका साथ सुरु भएको कार्यक्रमको औपचारिक कार्यक्रम भने बेलुकी १० बजेसम्म चलेको थियो । कार्यक्रममा अस्ट्रेलियाकालागि नेपाली राजदूत कैलाशराज पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो । फेस्टिबलमा मौलिक नेपाली पोशाक सजिएका हजारौँ नेपालीहरुको उपस्थिति हुनुका साथै नेपाली कला संस्कृति र मौलिकता झल्किने विभिन्न प्रस्तुती समेत राखिएको थियो । कार्यक्रममा नेपाल झल्किने नेपाल हाउस, नेपाली खानाका परिकार, गोर्खा स्टल लगायतका प्रस्तुतीहरु समेत राखिएको थियो । नेपाल हाउसले दर्शकहरुको ध्यान तानेको थियो । फेस्टिबलमा नेपालका पछिल्लो समयको सर्वाधिक चर्चित गायक प्रकाश सपुत लगायत स्थानीय कलाकारहरूले आफ्नो सांगितिक प्रस्तुति दिँदै दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रममा नेपाल समुदायका व्यक्ति र गैर नेपाली समुदायका व्यक्ति गरी भण्डै १५ हजार दर्शकको उपस्थिति रहेको र ऐतिहासिक रुपमा महोत्सव सम्पन्न भएको एनआरएनए नर्देन टेरोटरीका संयोजक विष्णु चापागाईँले लण्डन नेपाल न्यूज अस्ट्रेलियालाई जानकारी दिए । उनले अहिलेसम्मकै नेपाल फेस्टिबल मध्ये यो कार्यक्रम विश्वकै उत्कृष्ट भएको समेत दाबी गरे । कार्यक्रममा एनआरएनए अस्ट्रेलियाका कोषाध्यक्ष अनिल पोखरेल, एनआरएनए उपाध्यक्ष एवम् न्यू साउथ वेल्स राज्य सयोंजक देव गुरुङ, साउथ अस्ट्रेलिया सयोंजक रेणुका लामा, सल्लाहकार टोनु घोताने, पूर्व कोषाध्यक्ष डिला खरेल, जनसम्पर्क समिति अस्ट्रेलियाका अध्यक्ष  सुरेश गुरुङ लगायतको उपस्थिति रहेको थियो । गत वर्ष कार्यक्रम राम्रो भएकाले अवार्ड समेत पाएको भन्दै सयोंजक चापागाईँले कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद समेत व्यक्त गरेका छन् । कार्यक्रमलाई विभिन्न अस्ट्रेलियन तथा नेपाली व्यवसायिक संस्थाले प्रायोजन गरेका थिए ।