लन्डन । भूपू गोर्खाहरुको माग सम्बोधनका विषयमा नेपाली राजदूतावास र संयुक्त अधिराज्य (यूके) का रक्षा मन्त्रालयका पदाधिकारीहरु एवं भूतपूर्व गोर्खाका प्रतिनिधिहरुको सहभागितामा प्राविधिक स्तरको बैठक सम्पन्न भएको छ ।

लन्डनस्थित रक्षा मन्त्रालयमा आयोजित बैठकमा भूपू गोर्खाहरुका मुख्य मागहरु पेन्सन तथा कल्याणकारी विषयहरुमा विस्तृत छलफल भएको लन्डनस्थित नेपाली दूतावासले बिहीबार जनाएको छ। यी सम्पूर्ण विषयमा रक्षा मन्त्रालय तथा अन्य सम्बन्धित मन्त्रालयले आन्तरिक छलफल गरी पुनः अर्को बैठक गरिने सहमति भएको छ ।
बैठकमा नेपाल सरकारका तर्फबाट नेपाली राजदूतावासकी उप–नियोग प्रमुख रोशन खनाल, सैनिक सहचारी सहायक रथी रत्न बहादुर गोदार तथा भूतपूर्व गोर्खाहरुको तर्फबाट गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिका निर्देशक ज्ञानराज राई,मेजर (अवकास प्राप्त) जुदबहादुर गुरुङ्ग, गेसोका उपसभापति धर्मबहादुर तामाङ तथा बेलायत सरकारको तर्फबाट रक्षा मन्त्रालय, गृह मन्त्रालय र अन्तर्गतका अधिकारीहरुको सहभागिता थियो ।

दुई चरणमा गरी करिब चार घण्टा चलेको वार्तापछि बेलायती रक्षा मन्त्रालयबाहिर भेला भएका गोरखाहरूलाई सम्बोधन गर्न आउँदा वार्ता टोलीका सदस्यहरू प्रशन्न मुद्रामा उत्साहित थिए ।
वार्तामा सहभागी गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिका निर्देशक ज्ञानराज राईले ‘भाग्न खोजेका कुखुरा चोरहरू आज पासोमा परेको’ प्रतिक्रिया दिए । उनले भने, ‘आफ्नो पीडा सुनाउन पायौँ, कुरा शुरु भएको छ । हामीहरू खुशी हुनुपर्छ ।’
वार्तामा गोरखाहरूका प्रतिनिधि मेजर रिटायर्ड जुदबहादुर गुरुङले पेन्सनका सवालमा तीनवटा कुरा आफूहरूले राखेको र बेलायती सरकारको टोलीले ती विषयहरूमा अध्ययन गर्ने आश्वासन दिएको बताए ।
गेसोका उपसभापति तथा वार्ता टोलीका सदस्य धर्मबहादुर तामाङले आजसम्मको वार्तामा सन्तोषजकरूपमा विषयप्रवेश नभएको र आजबाट बल्ल गोरखाहरूको समस्याका बारेमा छलफल शुरु भएको बताए ।
गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले गोर्खाहरुका तर्फबाट समान पेन्सन सवालमा विस्तृत कुरा राखिएको बताए । ‘बेलायतलाई हाम्रो समान पेन्सनबारे राम्रोसंग अवगत गराएका छौं, बैठक सकारात्मक मान्नुपर्छ’, राईले भने ।

झण्डै ४ घण्टा बैठक चलिरहंदा भूतपूर्व गोर्खाहरुले मन्त्रालय अगाडि शान्तिपूर्ण आमसभा समेत गरेका थिए । उक्त सभामा गोर्खा अभियन्ताहरुले वार्ताको परिणाम सकारात्मक आउने बताउंदै बेलायत र नेपाल सरकारलाई यसप्रति गम्भीर हुन अपिल पनि गरे ।भिडियो हेर्नुस











