लन्डन । बेलायतस्थित नेपालीहरुको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद यूकेले आफ्नो स्थापनाकालको २५ औं वर्ष पूरा गरेको अवसर पारेर रजत वार्सिकोत्सव विविध कार्यक्रम गरी सम्पन्न गरेको छ ।
नेपाली भाषा साहित्यको संरक्षण, संवर्द्धन, विकास र नयाँ नयाँ साहित्यिक प्रतिभाहरूको खोजी गर्ने उद्देश्यले सन् १९९५ मा नेपाली साहित्य विकास परिषदको बेलायतमा स्थापना गरिएको हो ।
स्थापना कालको २५ औं वार्सिकोत्सव कार्यक्रममा नेपालका विशिष्ट व्यक्तिहरुलाई समेत ल्याउने तयारी गरिएको भएपनि कोरोना महामारीका कारण भर्चुअल (जुम प्रविधि) को माध्यमबाट कार्यक्रम गरिएको छ । परिषदले रजत वर्षको सुखद उपलक्ष्यमा परिषद् भित्र रहेर वा बाहिरबाट नेपाली भाषा साहित्यको क्षेत्रमा उल्लेखनीय योगदान पुरयाउने परिषद्का संरक्षकलगायत पदाधिकारीहरू, कूटनीतिज्ञ, अन्य संघसंस्थाका साहित्यकार र सञ्चारकर्मीहरू समेत गरि ९३ जना सर्जकहरुलाई २५ हजार रुपैयाँ बराबरको रजत उत्सव विशिष्ट सम्मान पदक तथा २० हजार २५ रुपैयाँ बराबरको साहित्य सम्मान पदक प्रदान गरेको छ ।
परिषद्का संस्थापक तथा पूर्व अध्यक्ष वरिष्ठ साहित्यकार सुरेश जङ्ग शाहलाई २५ तोला शुद्ध चाँदीमा बनेको विशिष्ट सम्मान रजत वर्ष अभिनन्दन पत्र तथा पदकबाट सम्मानित गरिएकोछ ।
रजत उत्सव समारोहका प्रमुख अतिथि परिषद्का संरक्षक बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले रजत उत्सव सम्मान पदकको घोषणा गरेका थिए ।
रजत जयन्तीकै अवसर पारेर परिषदको साहित्यिक प्रकाशन ‘लालीगुराँस’ स्मारिकाको पनि विमोचन गरिएको छ । यसैगरी परिषद्का सल्लाहकार कवि तथा गीतकार घनबहादुर थापा मगरको ’फूलको मुस्कान’ गीति संग्रह, कवि गोपाल पराजुलीको कृति ‘अ सोल्जर इन सर्च अफ पिस’ र लेखक एवं सामाजिक अभियन्ता सुरेन्द्र नेपाल श्रेष्ठको ‘मेरो आधा शताब्दी’ पुस्तक हरुको पनि विमोचन गरिएको थियो ।
परिषद्का अध्यक्ष कोमल मल्ल श्रेष्ठले नेपाली साहित्यलाई निरन्तरता दिन बेलायतमा हरेक वर्ष लक्ष्मी जयन्ती, भानु जयन्ती, साहित्य सन्ध्या, पुस्तक विमोचन तथा सय वर्ष पुगेका साहित्यिक स्रष्टाहरुलाई सम्मान गर्दै आएको बताउँदै कोभिड–१९ को सङ्क्रमणबाट उत्पन्न असहज परिस्थितिका कारण विगतका वर्षहरूमा झैँ औपचारिक रूपमा वार्षिकोत्सव समारोह आयोजना गर्न नसकिएता पनि वार्षिकोत्सवका अवसरमा शुभकामना व्यक्त गर्नुहुने तथा नेपाली साहित्य विकास परिषद् यूकेमा सहयोग पुरयाउनु हुने शुभेच्छुकप्रति अध्यक्ष मल्लले कृतज्ञता ज्ञापन गरेका छन् ।
नेपाली साहित्य विकास परिषद् यूकेले बेलायतमा क्रियाशिल ६ जना पत्रकारलाई साहित्य सम्मान-
नेपाली साहित्य विकास परिषद् यूकेले बेलायतमा क्रियाशिल ६ जना पत्रकारलाई साहित्य सम्मान पदक (एनएलडिसी सिल्भर जुब्ली मेडल) प्रदान गरेको छ । २० हजार २५ रूपियाँ राशीको उक्त पदकबाट कान्तिपुर दैनिकका बेलायत संवाददाता नवीन पोखरेल, वी नेपाली डट कमका नरेश खपाङ्गी मगर, नेपाली लिंक डटकमका ध्रुवराज अर्याल, लन्डन नेपाल न्यूज डट कमका सम्पादक शिव भण्डारी,च्यानल लन्डनका सम्पादक एभरेष्ट गौतम र नेपाली समाज यूके डटकमका सुशीलप्रताप सिंह सम्मानित भएका हुन्।
नेपाली साहित्य विकास परिषद्ले गर्यो आदिकवि भानुको सम्झना
नेपाली साहित्य विकास परिषद्, ले आफ्नो स्थापनाको २५ वर्ष पुगेको अवसरमा आयोजित रजत वार्षिकोत्सव कार्यक्रमको दोस्रो दिन आदिकवि भानुभक्तको सम्मान र सम्झनामा समर्पण गर्दै कविगोष्ठीकोरूपमा भरचुअल मध्यमबाट भव्यरुपमा सम्पन्न गरेको छ ।
बेलायतको लन्डनबाट परिषद्का सल्लाहकार कृष्ण भट्ट, महासचिव वीरेन्द्र कुँवर तथा यती संस्थाका सचिव जीत रानाभाट र नेपालको काठमाडौबाट नेपाल च्याप्टरका महासचिव हरिशरण लामिछानेबाट संचालन गरिएको दुई दिने कार्यक्रमको दोस्रो दिन सोमबार कविगोष्ठी आयोजना गरिएको थियो। समारोहलाई सम्वोधन गर्दै परिषद्का पदेन संरक्षक तथा बेलायतका लागि नेपाली राजदूत वरिष्ठ साहित्यकार डा.दुर्गाबहादुर सुवेदीले नेपाली साहित्य विकास परिषद्ले आफ्नो स्थापनाको २५ वर्ष पुरा गरेको दिन असार २९ गते भानु जयन्ती परेकोले यस रजतमहोत्सवको महत्व र आदिकवि भानुको सम्मान र सम्झना अँझ शिखरमा पु-याएको बताए ।
समारोहमा परिषदका वरिष्ठ सल्लाहकार तथा यती संस्थाका पूर्वअध्यक्ष डा.राघवप्रसाद धितालले कविहरू समाजका चिनारी हुन् जस्ले सिङ्गो देश आफूसँगै बोकेका हुन्छन् भन्दै नेपाली साहित्य विकास परिषद्ले विगत २५ वर्षदेखि देश बोक्ने काम गरिरहेको जनाए । यसैगरी विशिष्ट अतिथि प्रा.डा.खगेन्द्रप्रसाद लुइँटेलले विदेशमा बसेर देशको मायालाई सिर्जनामा उतार्ने कार्यमा नेपाली साहित्य विकास परिषद्ले पुराएको योगदान प्रशंसनीय रहेको बताए ।
परिषद्को नेपाल च्याप्टरकी अध्यक्ष ईल्या भट्टराईले परिषद्को रजतवार्षिकोत्सव मनाउन पाउँदा गौरवान्वित भएको चर्चा गर्दै नेपाल च्याप्टरबाट भएका कामहरुबारे प्रकाश पारेकी थिइन् । समारोहमा यती संस्थाका अध्यक्ष तथा परिषद्का वरिष्ठ सहअध्यक्ष ध्रुव केसीले नेपाली भाषा साहित्यको संरक्षण र विकासमा अग्रपङ्क्तिमा रहेको बेलायतका नेपालीको जेठो साहित्य संस्थाले विगत २५ वर्षमा धेरै सर्जकहरू जन्माएको बताए । परिषद्का संस्थापक तथा निवर्तमान अध्यक्ष सुरेशजंग शाह, अध्यक्ष कोमलप्रसाद श्रेष्ठ मल्ल र उपाध्यक्ष डा.सुधा श्रेष्ठले आज भन्दा ठीक पच्चीस वर्ष पहिले बेलायती माटोमा रोपिएको नेपाली भाषा साहित्यको बिरूवा हुर्कदै आज जवान अवस्थामा आइपुग्नुको श्रेय परिषदका संरक्षक महामहिम राजदूतज्यूहरू, बेलायत र नेपाल च्याप्टरका पदाधिकारी ,सल्लाहकार तथा साधारण सदस्य, विश्लेषक समालोचक, पत्रकार, कलाकार, सहयोगी व्यवसायी वर्ग र सर्जकहरूलाई समर्पित गर्दै सबैमा आभार व्यक्त गरे ।
कलाकारहरू वरिष्ठ गायीका सीतु खरेल, परिषद्का कोषाध्यक्ष मनोज अन्जान र कार्यकारिणी सदस्य तथा सयपत्री सांस्कृतिक परिवारका अध्यक्ष डम्बरसिँह ‘प्रयास’ ले आफ्नो प्रश्तुति गरेका थिए। परिषद्का सल्लाहकार कृष्ण भट्टले भानुभक्तको रामायण श्लोकहरू वाचन गरेर आरम्भ भएको कविगोष्ठीमा बेलायत, नेपाल, अमेरिका, बेल्जीयम, रुस, अफगानिस्थान आदि देशहरूबाट भागलिएर आफ्ना रचना वाचन गर्ने कवि कवयित्रीहरूमा वसन्त रायक्षेत्री, हरिसिँह थापा,जीत रानाभाट, हरि शरण लामिछाने, दूत पुन, केदार सांकेत (अफगानिस्थान), विजय हितान, हिन्दमैञा वैद्य, कृष्ण भट्ट, डम्बरसिँह ‘प्रयास’ , मनोज अन्जान, वासु शर्मा, गोकुल भण्डारी, घनबहादुर थापा मगर, गोमा राना, रेशमलाल अर्याल, डा.सुधा श्रेष्ठ, कोमल भट्ट (न्यूयोर्क, युएसए), टेकबहादुर थापा, डा.संगिता श्रेष्ठ ‘स्वेच्छा’ , प्रेणा थापा, अजिता सिंखाडा, फणिन्द्र भट्टराई, सुरेस हाच्खछकाली, अहिल्या कुँवर, खगेन्द्र नेपाली, रेशम अर्याल, गोपि प्रसाई, दुस्यान्त, दीपा लिम्बु राई (बेल्जीयम), सीता भण्डारी कंडेल थिए। यसैगरी नेपालबाट वरिष्ठ कवि गोपाल पराजुली, ईल्या भट्टराई, इन्द्र बहादुर कार्की, सुरेश हाचेकाली, गोपीकृष्ण प्रसाई, हरिशरण लामिछाने , डा. माधवी भट्ट, ललीता दोषी, वियोगी बुढाथोकी, कृष्णप्रसाद अर्यालले आफ्ना रचनाहरु सुनाएका थिए । सोमबार समारोहको पहिलो दिन प्रमुख अतिथि परिषद्का पदेन संरक्षक राजदूत डा. दुर्गाबहादुर सुवेदीबाट समुद्घाटन भए पछि पुस्तक विमोचन, पुरस्कार सुशोभन घोषणा, गीत सङ्गीत प्रस्तुत, शुभकामना मन्तव्य, कविता गोष्ठी र भानु जयन्ती मनाउँदै सोमबार समापन भएको थियो ।






