ग्रीनवीच बरो मेयर तथा प्रतिनिधिसँग गुल्मीका तीन पालिका अध्यक्ष र प्रधानमन्त्रीका जनसम्पर्क विज्ञले गरे महत्वपूर्ण भेट

शिव भण्डारी

लन्डन । गुल्मी जिल्लाका तीन पालिका अध्यक्षहरु तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का जनसम्पर्क विज्ञले सोमबार रोयल बरो अफ ग्रीनवीच मेयर र काउन्सिलरहरुसँग भेटवार्ता गरेका छन् ।

उक्त भेटमा प्रधानमन्त्री दाहालका जनसम्पर्क विज्ञ बुद्धि जिसी, धुर्कोट गाउंपालिका अध्यक्ष भुपाल पोख्रेल, चन्द्रकोट गाउंपालिका अध्यक्ष युवराज खत्री क्षेत्री र मालिका गाउंपालिका अध्यक्ष देवीराम अर्यालले सोमबार ग्रीनवीच बरो मेयर लियो फलेचर, उपमेयर डोमिनिक एम्बांग, काउन्सिल लिडर एन्थोनी ओकेरेकी, डेपुटी लिडर एभ्रीअल लिकाउ, काउन्सिलरहरु जित रानाभाट, अडेल खइरे र इजी कुकसंग भेट गरी गुल्मी र ग्रीनवीच बरोबीच सम्बन्ध स्थापना तथा दुई देशबीच स्थानीय स्तरमा सांस्कृतिक, भौतिक, शैक्षिक लगायत सरसहयोग र भ्रमण आदानप्रदानबारे छलफल गरेका हुन् ।

काउन्सिलर जित रानाभाटको पहलमा काउन्सिल प्रतिनिधिहरुसँग भेटवार्ता भएको थियो । गुल्मीवासी जिसीले नेपाल सरकारका प्राथमिकता र बेलायतसंगको दुई शताब्दी लामो सम्बन्धका विविध आयामबारे प्रकाश पारेका थिए ।

गाउंपालिका अध्यक्षहरुले भेटघाट महत्वपूर्ण, सार्थक र उपलब्धिमूलक भएको बताएका छन् ।

भेटवार्तामा पत्रकारहरु शिव भण्डारी, मन्जु भण्डारी, महलाल घिमिरे, प्रकाश कंडेल लगायतको पनि उपस्थिति थियो ।

उनीहरुले रसमोर बरो प्रतिनिधिसंग समेत भेटघाट गर्ने तयारी छ ।

बेलायतको स्थानीय सरकार सन्चालन विधि, विकास, संसदीय अभ्यास आदिको प्रत्यक्ष अवलोकन एवं नेपाली समुदायका कार्यक्रममा साक्षात्कार गरी पालिका अध्यक्षहरु आगामी शनिबार नेपाल फर्कने छन् ।