परराष्ट्रमन्त्री साउद बिहीबार लन्डन आउंदै, दूतावास र जनसम्पर्क समितिले स्वागत गर्ने

शिव भण्डारी

लन्डन । परराष्ट्रमन्त्री एनपी साउद संयुक्त अधिराज्य बेलायतका राजा चार्ल्स तृतीय र महारानी कोनसोर्टको राज्याभिषेकमा सहभागी हुन भोलि राती लन्डन हिथ्रो आइपुग्ने भएका छन् ।

परराष्ट्रमन्त्री राती ८.२० मा हिथ्रो ल्याण्ड हुने तालिका रहेको लन्डनस्थित नेपाली दूतावासकी नियोग उपप्रमुख रोशन खनालले जनाइन् ।

श्रीमति र स्वकीय सचिवका साथ यूके आउन लागेका मन्त्रीको स्वागतका लागि नेपाली दूतावास कर्मचारी र नेपाली जनसम्पर्क समिति बेलायतका पदाधिकारी एयरपोर्ट जांदैछन् ।

लण्डनमा रहँदा मन्त्री साउदले ६ मेमा वेस्टमिन्स्टर आबीमा हुने राज्याभिषेक समारोह र बकिङ्घम दरबारमा हुने स्वागत समारोहमा सहभागी हुने परराष्ट्र मन्त्रालयले आज जनाएको हो ।

सो अवसरमा उनी अन्य औपचारिक कार्यक्रम पनि सहभागी हुनेछन् ।

मन्त्रीको सम्मानमा नेपाली जनसम्पर्क समिति बेलायतले आइतबार सांझ लन्डन साउथ हयारोस्थित गोल्डेनसीप रेष्टुरेन्टमा एक स्वागत तथा सम्मान कार्यक्रम राखेको समितिकी महामन्त्री रोमियन लिम्बुले बताइन् । उक्त कार्यक्रमको लन्डन नेपाल न्यूजले लाइभ प्रसारण गर्नेछ ।

परराष्ट्रमन्त्री साउद यही वैशाख २६ गते स्वदेश फर्कने तालिका छ ।