चितवन क्षेत्र नं–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने फराकिलो मतान्तरले विजयी हुनुभएको छ । निकटतम प्रतिस्पर्धीभन्दा ४२ हजार नौ सय ६२ बढी मत ल्याएर उहाँ विजयी हुनुभएको हो ।
विजयी लामिछानेले ५४ हजार एक सय ७६ मत ल्याउनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले ११ हजार दुई सय १४ मत प्राप्त गर्नुभयो । यस्तै नेकपा (एमाले) का रामप्रसाद न्यौपानेले १० हजार नौ सय ३६ मत प्राप्त गर्नुभयो । राप्रपाका जीवलाल पुरीले तीन सय ७५ मत प्राप्त गर्नुभयो ।
चितवन क्षेत्र नं–२ मा ७८ हजार छ सय ६४ मत खसेको थियो । जसमध्ये एक हजार एक सय ९८ बदर भई ७७ हजार चार सय ६६ सदर भएको थियो । सो क्षेत्रमा ४३ स्थलका एक सय ३८ केन्द्रमा मतदान गरिएको हो । यस क्षेत्रमा एक लाख २४ हजार छ सय ९५ मतदाता रहेका थिए ।
ती मध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार ४०३ पुरुष र एक तेस्रो लिङ्गी रहेका थिए । गत मङ्सिरमा सम्पन्न निर्वाचनमा समेत विजयी लामिछानेले त्यतिबेला ४९ हजार दुई सय ६४ मत प्राप्त गर्नुभएको थियो । नेपाली कांग्रेसका उमेश श्रेष्ठले १४ हजार नौ सय ८३, एमालेका कृष्णभक्त पोखरेलले १४ हजार छ सय ४७ र राप्रपाका रवीन अधिकारीले नौ सय ५५ मत प्राप्त गर्नुभएको थियो ।
गत वर्ष मङ्सिरमा सम्पन्न निर्वाचनमा ८४ हजार सात सय ५३ मत खसेको थियो । त्यसमध्ये ८३ हजार नौ सय ५६ सदर मत थियो । उक्त समयमा एक लाख २४ हजार दुई सय १५ मतदाता रहेका थिए । मङ्सिरमा १० दल र छ स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा हुनुहुन्थ्यो भने यसपाली १२ दल र १० स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा थिए ।
चितवन क्षेत्र नं–२ मा कालिका नगरपालिका, ईच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिकाका १० वडा पर्छन् ।
सिङ्गो देश परिवर्तनको पक्षमा : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले सिङ्गो देश परिवर्तनको पक्षमा देखिएको बताउनुभएको छ । चितवन क्षेत्र नं २ को उपनिर्वाचनमा फराकिलो मतान्तरले विजयी बन्नुभएका लामिछानेले धन्यवाद सभालाई सम्बोधन गर्दै जनताले दिएको मत परिवर्तनको बिगुल भएको बताउनुभयो ।
जनता अन्यायमा परे, भ्रष्टाचार बढ्यो भन्दा नसुनेपछि आफु चुनाबी मैदानमा आउनु परेको भन्दै उहाँले जनताको मतको कदर गर्दै अन्यायमा पर्न नदिने बताउनुभयो । सामान्य त्रुटीका कारण पाँच वर्षका लागि पाँच महिना अघि निर्वाचित भएर गए पनि पुनःमत माग्न आउनु परेको भन्दै उहाँले जनताको अदालत सबैभन्दा ठूलो अदालत भएको बताउनुभयो । विकास निर्माणमा आफूले कसैलाई काखा र कसैलाई पाखा नगर्ने बताउँदै संसद्मा रहँदा देशको सुशासन, गरिबी, अशिक्षा ,भ्रष्टाचार अन्त्यका लागि काम गर्ने बताउनुभयो ।
सुरुवातीको वर्ष विकासका योजना निर्माणमा लाग्ने र अन्य वर्षमा देखिने गरी विकासका कार्यक्रम सञ्चालन गर्ने उहाँको भनाइ थियो । उहाँले प्रतिस्पर्धी उम्मेदवार र उहाँका मतदातालाई समेत आभार व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो “निर्वाचनको समयमा केही कमी कमजोरी भए क्षमा चाहान्छु । नयाँ दल भएकाले राजनीतिक अभ्यास सिक्दै गरेका छौँ । गल्ती भए माफ गर्नुहोला ।” नेपाली जनताले स्वर्णीम युगको खोजी गरिरहेको सङ्केत उपनिर्वाचनबाट दिएको उहाँको भनाइ थियो ।






