सिड्नी । रुपन्देही सामाजिक सञ्जाल अस्ट्रेलियाले नयाँ वर्ष २०८० सालको पावन अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने भएको छ ।सञ्जालले यही अप्रिल १५ तारिख शनिवार सिड्नीको टेम्पे रिक्रियशनल रिजर्भमा नयाँ वर्ष शुभकामना आदान प्रदान सहित बिबिक्यू कार्यक्रमको आयोजना गरेको छ ।
नेपाली नयाँ वर्षलाई विदेशमा पनि सम्झिएर आपसी दुख सुख साटासाट गर्ने तथा जमघट गरेर रमाईलो गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको रुपन्देही सामाजिक सञ्जाल अस्ट्रेलियाका अध्यक्ष मुक्तिराम पोखरेलले जानकारी दिए ।
कार्यक्रममा नयाँ वर्षको शुभकामना साटासाट सहित खानपिन र अन्य विभिन्न रमाईलो कार्यक्रमको आयोजना गरिएको छ । बच्चाहरुको रमाईलो मेला, गीत सगींत नृत्य सहित अन्य विभिन्न मनारेञ्जनात्मक कार्यक्रम आयोजना गरिएको अध्यक्ष पोखरेलले बताए ।बच्चाहरुबीच नेपाली संस्कृति र कला बारे जानकारी दिने उद्धेश्यले बच्चाहरुको विशेष प्रस्तुती समेत रहनेछ । त्यस्तै कार्यक्रममा कलाकार टिका प्रसाई र सन्दिप पराजुलीको पनि प्रस्तुती रहने सञ्जालकी महासचिव रन्जीता भण्डारीले बताइन ।
कार्यक्रमलाई अस्ट्रेलिया स्थित झण्डै आधा दर्जन सघं संस्थाहरुले प्रायोजन गरेका छन् । रुपन्देही स्थायी घर भई अस्ट्रेलियामा रहने विभिन्न सघंसंस्थामा आबद्ध व्यक्तिहरु र अन्य अस्ट्रेलिया स्थित विभिन्न सामाजिक व्यक्तित्वहरुलाई निमन्त्रणा गरिएको जनाइएको छ । । दिउँसो साढे १२ बजेबाट सुरु हुने कार्यक्रममा उपस्थित हुन कार्यक्रम संयोजक प्रदीप खनालले सबैमा अपिल गरेका छन् ।






