सिड्नी । अस्ट्रेलियाकै सबैभन्दा ठुलो राज्य न्यू साउथ वेल्समा १२ वर्षपछि लेवर पार्टीले जित हासिल गरेको छ ।
लामो समय विपक्षी दलको रुपमा रहेको लेवर पार्टीले शनिवार सम्पन्न भएको निर्वाचनमा जित हासिल गर्दै सरकार बनाउने भएको हो ।
निर्वाचनमा जित हासिल गरेसँगै लेबरका नेता क्रिस मिन्स यस राज्यको प्रिमियर बन्ने पक्का भएको छ ।
९३ सांसद संख्या रहेको तल्लो सदनमा बहुमतको सरकार निर्माणका लागि आवश्यक पर्ने ४७ संख्या लेबरले जित्ने बताईएको छ । यद्यपी मतगणना भने चलिरहेको छ ।
शनिबार राति आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै लेबर नेता मिन्सले मतदातालाई धन्यवाद दिएका छन् । वर्तमान प्रिमियर तथा लिबरल नेता डोमिनिक पेरोटेले लेबर नेता मिन्सलाई शुभकामना दिएका छन् ।
हारसँगै लिबरल नेता पेरोटेले पार्टी नेताबाट राजीनामा दिएका छन् । उनले यस राज्यमा लिबरलले बेहोर्नुपरेको हारको जिम्मेवारी लिँदै पार्टीको नेतृत्वबाट हट्ने जनाएका हुन् ।
यसपटक निर्वाचनमा नेपालीमूलका लेबर पार्टीबाट एलेक्स कार्की र लिबरलबाट ज्योप्सना पौडेलले समेत उम्मेदवारी दिएका थिए । उनीहरुले भने हार्ने निश्चित बनेको छ ।






