तक्दीर अधिकारी, सिड्नी ।
कोरोना महामारीको कारण विश्वनै संकटमा परेको अवस्थामा जटिल परिस्थितीमा नेपाली नारीहरुको महान पर्व हरितालिका तीज पर्व यस बर्ष भने खल्लो भएको छ । तीज पर्व शुुरु हुनु भन्दा एक दुइ हप्ता अघिबाट दरखाने, नाँचगान तथा रमाइलो गरी शुभकामना साटासाट गर्ने नेपाली दिदीबहिनीहरुले यस बर्ष त्यस खालको अनुभव गर्न पाएनन् ।
गत बर्षहरुमा गैरआवासीय नेपाली संघ अष्ट्रेलिया र बिभिन्न संघ सस्थाहरुले तीजमा मिन्टो रेल इस्टेसन् बाट मन्दिर सम्मा जाने यातायात लगायत अन्य सेवा हरु पुर्यौदै आएका थिए यस् पटक भने यस्तो सेवा पुर्याउन नपाएकोमा गैरआवासीय नेपाली संघ अष्ट्रेलिया उपाद्क्ष्य तथा न्यु साउथ वेल्स राज्य परिषद सम्योजक देब गुरुङ ले दु:ख प्रकट गर्दै सम्पूर्ण नेपाली दिदीबहिनीहरुलाई तीज को शुभकामना दिए । गत बर्ष लण्डन नेपाल न्युज अष्ट्रेलियाले सिड्नीको मिन्टो मन्दिरबाट गरेको स्थलगत रिपोर्टिङ्गको स्मरण गर्दै सहकर्मी अनु लामाको विशेष पहलमा यसबर्षको हरितालिका तीज अष्ट्रेलियामा रहेका नेपाली दिदीबहिनीहरुले कसरी मनाए त ? विषम परिस्थितीकै विच अष्ट्रेलियामा रहेका नेपाली दिदीबहिनीहरुले खल्लो रुपमै भएपनि तीज पर्व मनाएको अनुभव सुनाए । उनीहरुको अनुभवकोे सम्पादित अशं ।
क्यानबेरा स्थित नेपाली दुतावासकी उपनियोग प्रमुख दुरपदा सापकोेटाले पनि यस बर्ष तीज पर्व विगतको भन्दा निकै फरक तरिकाले मनाएको अनुभव सुनाइन् । “पोहोर सालकोे भन्दा धेरै फरक भयो, विभिन्न संघसंस्थाहरुबाट कार्यक्रम आयोजना हुन्थ्यो, सबैजना सँगै मन्दिर गइन्थ्यो, स्वयंसेवा पनि गरिन्थ्यो” उनले भनिन्, “आफ्नै स्वास्थ्यलाइ ध्यानमा राखेरै भएपनि यस बर्ष कहिँ कतै जान पाइएन, सरकारको नियम पुरा गर्दै घरघरमै मनाइयो” । उनले विगतमा यहाँ रहेका मन्दिरहरुमा विहान साँझ पुजाआजा गर्ने गरेको बताइन् ।
त्यस्तै क्यानबेराकै सीता पौडेललाइ पनि यस पटकको तीज पर्व निकै खल्लो लागेको छ । “यो त तीज जस्तै भएन, विगतमा मन्दिर तिर भइन्थ्यो, सय जना भन्दा बढी जम्मा भएर नाचगान तथा पुजाआजा गरिन्थ्यो” विगतको अनुभव सुनाउँदै सापकोटाले भनिन् “आफ्नै सुरक्षालाइ ध्यान दिनकै लागि भएपनि धेरै मानिसहरु जम्मा हुन पाइएन” । उनले ड्युटिबाट विदा लिएरै भएपनि आफ्नो क्षेत्रमा रहेका साथीहरु जम्मा भएर केही समय नाँचगान गरेको बताइन् ।
न्यु साउथ वेल्समा रहेका केही दिदिबहिनीहरुले भने सामाजिक दुरी कायम गरेरै भएपनि तीज पर्वको उल्लास मनाउने प्रयास गरे । कला तथा साहित्य प्रतिष्ठानकी अध्यक्ष सुजना बस्नेत केसीले भनिन्, “कोरोनाको हाहाकार भएको कारण नियम पालना गर्दै, सबैको ज्वरो नापी सुरक्षाका मापदण्ड पालना गरि भेला भयौँ, संस्कृतिको निरन्तरता दिनकै लागि भएपनि औपचारीकता पुर्यायौँ”।
गैरआवासीय नेपाली संघ अष्ट्रेलियाकी सचिब उषाकिरण बारियाले विशुद्ध रुपमा घरमै बसेर तीज मनाएको सुनाइन् । “पोहोर भन्दा त यो बर्ष निश्चय नै फरक भयो, नारी निकुञ्ज सहित धेरै संस्थाहरुले कार्यक्रम आयोजना गरेका हुन्थे, रमाइलो गरिन्थ्यो”, उनले भनिन्, “मिन्टो मन्दिरमा गइन्थ्यो, त्यहाँ जाँदा नेपालको पशुपति मन्दिरमा पुजाआजा गरेजस्तै महसुस हुन्थ्यो, यसपालि वेस्टविटको मन्दिर गएको भएपनि तीजको रौनक भएन्” ।
नवनायिका आना ढकालको फरक अनुभव छ । “पर्व भनेको मनैबाट आउने खुशी हो” उनले भनिन्, “तर भित्री मनबाटै खुशी नभएको कारण अहिलेको तीज निकै खल्लो भयो”। उनले महामारी नियन्त्रण गर्न लगाइएको लकडाउनको कारण, घरभित्रै थुनिएको अवस्था रहेको र कलाकार तथा नागरिकको हिसावले घरमै रमाइलो मात्र गरेको बताइन् ।
त्यस्तै नृत्य कलाकार करुणा घिमिरेलाइ यस बर्षको तीज पर्व खल्लो महशुस भयो । “जेनतेन पर्व मनाइयो, विगतको जस्तो उत्साहजनक हुन पाएन” घिमिरेले भनिन्, “आफ्नो ड्युटी सम्पन्न गरि केही साथीसँगी सँग भेट गरेर रमाइलो भने गर्याैँ” ।
न्यु साउथ वेल्स राज्य परिषदकी कोषाध्यक्ष संगीता बस्नेत जोशीले यस प्रकारकोे अनुभव जीवनमै पहिलो पटक गरेको बताउँछिन् ।“हरेक चाड पर्व खुशी बाड्नको निम्ती मनाइने हो, तर माहोल त्यस प्रकारको नभएको कारण यस बर्ष पर्व तीजमा मिठास भएन”, उनले भनिन, “तैपनि घरमै बसेर पुजाआजा गरियो, भर्चुअल रुपमै शुभकामना आदान प्रदान गरेर तीज पर्व चित्त बुझायौँ” । उनले यस खालको वातावरण यसपछि कहिल्यै भोग्न नपरोस भन्ने कामना गरिन् ।
एनआरएनए न्यु साउथ वेल्स राज्य परिषद सदस्य अञ्जु शाहको पनि यस बर्षको तीज सोचेजस्तो भएन् । “घरमै पुजाआजा गरे संस्कृति जोगाउने काम मात्र भयो”, उनले भनिन्, “गत बर्ष धेरै संघसंस्थाहरुले आयोजना गर्ने कार्यक्रममा सहभागी भइन्थ्यो, यसपटक केही साथीसंगीहरु मात्र रमाइलो गरियो” ।
विगतको बर्षमा सिड्नीमा तीज मनाएकी करुणा अधिकारीले यस बर्ष ताजमेनिया को होवर्डमा तीजको रमाइलो गरिन् । उनलाइ कोरोना महामारीले खासै छोएन । “नया ठाँउ, नया माहोल अनि नया साथी सँग रमाइलो गर्ने अवसर भयो” उनले भनिन्, “तीजको दिन भन्दा हप्ता दिन अघिबाटै दरखाने र नाचगान गर्याै, विदेशमा भएपनि नेपाली कलासंस्कृतिको संरक्षण गर्दै हिन्दु धर्मअनुरुप ब्रत बस्यौ,रमाइलो भयो”।
कुइन्सल्यान्ड, ब्रिजसेन मा बसेर तीज मनाइरहेकी गिता अर्यालको यस बर्षको अनुभव हालसम्मकै फरक छ । “यसप्रकारको तीज जीवनकै पहिलो अनुभव हो” उनले भनिन्, “१३ बर्षदेखी यहाँँ नेपालमै जसरी पर्व मनाइरहेका थियौँ, अहिले भने घरभित्र मात्र सीमित रह्यो” ।
भिक्टोरिया मेलवर्न मा अध्ययन भिषामा आएकी उषा भट्टराइले दुइ बर्षको अवधिमा घरमै जस्तो तीज मनाउन सकिनन् । “पोहोर साल नया भएको कारण केही मेसो नै पाउन सकिन, तीज यसै गयो” उनले सुनाइन्, “यस बर्ष महामारीको कारण कोठामै बस्नुपर्याै, वरिपरिका साथीहरु जम्मा भएर कोठामै रमाइयो, नाचियो” । हाल मेलवर्न शहरमा १ सय भन्दा बढी नेपाली विद्यार्थी संक्रमित भएका छन् । भने त्यहा चौथो चरणको लकडाउन गरिएको छ ।
आफ्नो संस्कृति बचाउने गरी पर्वकोे निरन्तरा दिने गरी मात्रै तीज पर्व मनाइएको साउथ अष्ट्रेलियामा रहेकी सुमन चौधरीले बताइन्। “संस्कृतिलाइ निरन्तरता पनि दिने र आफुहरुबिच दुखकै बिच खुशीयाली साट्ने गरी तीज पर्व मनाइयो” उनले भनिन्, “स्वास्थ्य स्थिती ठिक रहे आगामी दिनमा अझ रमाइलो गर्ने गरी घर भित्रै रहन अरुलाइ पनि आग्रह गर्छु” ।
गैरआवासीय नेपाली संघ साउथ अस्ट्रेलियाकी उपसंयोजक सन्तोषी गौतमले गत बर्षको अनुभव र हालको अनुभव निकै फरक रहेको बताइन् ।“यसपालीको तीज खासै मनाइएन भन्दा पनि हुन्छ, परिवारमै सीमित गर्याै”, उनले भनिन्, “परिवार वाहिरको कोही पनि जम्काभेट भएनौ, घरभित्र नै नाचगान गर्याै, बच्चाहरुलाइ संस्कृति सिकाउने काम पनि भयो” । उनले आफुहरुको संस्कृति आफ्ना नानीबाबुहरुलाइ सिकाउनकै निम्ती भएपनि घरभित्रै पर्व मनाइन् ।
गत बर्ष सिड्नीमा तीज मनाएकी युनिसा सत्याललाइ हाल नोरदेन टेरोटोरी एलिसस्प्रिङ्गमा रहेपनि असहज परिस्थतीकै बाबजुत तीज मनाउन खासै फरक परेन । “यहाँ स्थित नेप्लीज कम्युनिटिको आयोजनामा तीज पर्व मनाउने अवसर मिल्यो” उनले भनिन्, “हिन्दु सोसाइटीको तर्फबाट मन्दिर बनाइएको रहेछ, त्यही महादेवको आरधना गरियो, बेलुका तीन घण्टा जति समय मिलाएर तीज मनाउने समय मिल्यो” । हाल यहाँ कोरोनाको संक्रमित भेटिएका छैनन् । तैपनि सुरक्षाका मापदण्ड पुरा गरेरै उनी सँगै अन्य नेपालीले तीज मनाए ।
वेस्टर्न अष्ट्रेलियामा रहेकी लक्ष्मी बोहोराले यस वर्षको तीज उत्साहजनक नभएको अनुभव सुनाउछिन् । कोभिड १९को संक्रमण सँगै आफ्नो नियमित ड्युटीको कारण पनि उनको यसबर्षको तीज खल्लो रह्यो । हरेक क्षेत्रमा कोरोनाले प्रभावित बनाएको यस अवस्थामा नेपालीहरुले सम्झौता गरेरै भएपनि संस्कृति जोगाउने यत्न गरेका छन् । यता विगतका बर्षहरुमा गैरआवासीय नेपाल संघले तीज विशेष कार्यक्रमहरु आयोजना गरिरहेको हुन्थ्यो । तर यस बर्ष सो खालका कार्यक्रमहरु आयोजना गरी तीज मनाउन नपाएकोमा एनआरएनए न्यु साउथ वेल्स राज्य परिषदका संयोजक देव गुरुङ्ले दुख ब्यक्त गरे । 






