डा. मिलन ज्ञवाली
२६ मार्च २०२१ त्यसो त उनका धेरै परिचय छन् । एउटै नाम र कामले उनको परिचय दिनु अन्याय हुन्छ । मैले उनलाई तीन भागमा चिनेको छु, चिन्नुभन्दा पहिलेका, चिन्ने क्रमका र चिनेपछिका । चिन्नुभन्दा पहिलेका दुत हाम्रो गाउँमा अर्थात् गुल्मीको ग्वादी गाउँपञ्चायतमा केही औँलामा गन्न सकिने लाहुरेहरु थिए । त्यसमा पनि मलायका लाहुरे त एकजना मात्र थिए मैले जान्दासम्म । लाहुरेहरु घरमा आउँदा घर मात्र होइन, गाउँ नै अत्तरले बसाउँथ्यो । त्यो बास्नामा एक किसिमको माया, श्रद्धा र डाढ पनि मिसिएको हुन्थ्यो । लाहुरे पनि दुई खालका थिए, पल्टनका लाहुरे र अन्य लाहुरे । पल्टनका लाहुरेहरुको पेन्सन पाकेपछि बेग्लै रवाफ हुन्थ्यो । समयसमयमा पेन्सन थाप्न जान्थे र पेन्सन थापेर अउँदा पीपलगेडी मीठाइ ल्याउँथे ।
उनका नजिकका बच्चाबच्चीहरुले मीठाई चुस्थे । हामी टाढाकाहरु थुक निल्थ्यौँ । पोखरा आएपछि भने गाउँमा जस्तो एकदुई जना मात्र लाहुरेहरु देखिएनन् । कोही पल्टनमा त कोही अन्य पेशाका लागि विदेशमा गएका । एकदुई जना लाहुरे आउँदैमा टोल बसाउँदैनथ्यो । शहरका लाहुरेहरु त रहरले मात्र नभएर करले पनि भर्ती हुन गएको पाएँ । उनीहरुको पेशा सुन्दा रहर लाग्थ्यो, कथा सुन्दा गर्व लाग्थ्यो र हेपाइ खाँदा नमज्जा लाग्थ्यो । यस्तै यस्तै, न त नजिकबाट राम्रोसँग चिनिएका न त अञ्जान नै भएका लाहुरेहरुमध्येका एक थिए दुत पुन । केबल एक लाहुरे । चिन्ने क्रमका दुत आफूलाई नजिकका लाग्ने, पोखरामा सँगै उठबस गरेका र उनीहरुलाई बेलायतमा बस्नका लागि कानुनी कागजात बनाउनसमेत सहयोग गरेका सथीहरुले म बेलायत आएपछि भेट्न आएनन् । उनीहरुले मलाई भेट्न नचाहेको बुझेँ । कारण खोजिनँ । यो अनुभवले मलाई यहीँको समुदायसँग घुलमिल हुन सिक्नुपर्छ भनेर बताउन खोजेजस्तो लाग्योे । सन् २००४ मा बेलायत आएको भए तापनि २००७ सम्म बेलायतमा बस्ने नेपलीहरुलाई बुझिसकेको थिइनँ । यसरी मैले जीवनको एक नयाँ अध्याय सुरु गर्दै थिएँ । २००७ सालको अन्त्यतिर मैले हरिकुमार गुरुङ अर्थात हरि दाइसँग भेट हुने मौका पाएँ । त्यसको सात आठ महिनापछि लीलामान शेर्पुञ्जामगर अर्थात् लीलामान दाइले नेपाली पत्रिका चलाउने कुरा लिएर आउनुभयो । पोखरामा पत्रिका चलाएको मान्छे बेलायमा चलाउन सकिँदैन भन्ने कुरा आएन । कुरा अगाडि बढ्यो । हिँजोसम्म नेपाली समुदायसँग एक्लिएर बसेको मान्छे एकाएक नेपालीहरुको बीचमा परेँ । ‘नेपाली एक, मान्छे अनेक’ भनेजस्तै भएको थियो मलाई । यसै मेसोमा परिचित हुनुभयो दुतबहादुर पुन । सुरुवातका दिनहरुमा उहाँले मागेको बेला लेख रचना दिने, ग्राहक बनाउने र व्यवस्थापनमा सहयोग गर्नुहुन्थ्यो ।
एकदिन राति पत्रिका तयारी गर्दै थिएँ अलिकता ठाउँ बच्यो । त्यो समयमा मलाई सहयोग गर्ने दुईजना शेयरधनीहरु हुनुहुन्थो, शिवजी श्रेष्ठ र दुत पुन । उहाँहरुले लेख्न पनि मन पराउने र रातिमा पनि काम गर्ने भएकाले पेज भर्न कहिलेकाहीँ उहाँहरुको साहयोग लिन्थेँ । त्यो रात दुत पुनलाई फोन गरेँ । यसको मतलब पत्रिकामा अलिकता ठाउँ बच्यो पाना भर्नका लागि उहाँले फोनमा कविता भन्नुभयो । मैले टाइप गरेँ । त्यो व्यङ्ग्यात्मक कविता अलिक तल्लो स्तरको थियो हाम्रो पत्रिकाका लागि मन परेन । तर म भने धर्मसङ्कटमा परेँ, मागेको कविता कसरी नछाप्नु ? छापुँ भने पनि विवाद आउने खालको । तैपनि नछाप्नका लागि कुरा राखेँ । दुत दाइले अप्ठ्यारो मान्नुभयो, मैले जोखिम लिएँ । बिहान उठेर शशि पौडेल अर्थात् शशि दाइलाई जानकारी गराएँ । उहाँले हल्का रुपमा लिनुभयो । साहित्यको पाना मेरो जिम्मामा भए विवाद आउन सक्ने खालका लेखरचनाहरुको बारेमा शशि दाइ, हरिदाइ र लीलामान दाइलाई बताउने गर्थें । कुरा बताए पनि सच्याउन सक्ने समय थिएन । कविता छापियो । अनि विवादमा पनि आइयो । शशि दाइले कुरा मिलाउन धेरै मेहनत गर्नुभयो । यसै क्रममा अर्को विवादमा परियो । एक सक्रिय शेयरधनीको रुपमा परिचित हुन पुग्नुभयाृ दुत पुन । चिनेपछिका दुत मैले चिन्दा देखा परेका र पछि कसौटीमा परेका दुत पुनमा धेरै अन्तर पाएँ । उहाँको योग्यता र क्षमता त मैले सायदै लेख्न सकुँला । अटोबायोग्राफी भएकाले उहाँका कुराहरु आफैँले लेख्नु नै हुने छ । तसर्थ मैले चिनेका दुत पुनलाई यसरी प्रस्तुत गर्न मन लाग्छ – बन्दुक पड्काउने दुत बाजा पनि बजाउँदा रहेछन् नेतृत्वमा पनि कुशल रहेछन् साहित्य पनि रच्दा रहेछन् सुनदन्तेसँग पनि हिँड्दा रहेछन् । उहाँका रचनाहरु पढ्ने मौका मिल्यो । कथा पढेँ । कविता पढेँ र गीत पनि सुनेँ । सतहलाई छोएर बन्दुक पड्काएझैँ लेख्ने गर्नुहुँदो रहेछ । उहाँको साहित्यिक यात्रालाई यस्तो भन्न मन लाग्छ – एकदिन उनले अर्ली भाइ र साहेबनीलाई सँगै देखेछन् अर्ली भाइ रमाएको चाल पाएछन् साहेबलाई तासमा भुलाएछन् साहेबनीको कोख भराइदिएछन् सन्तानको सपना पूरा गराइदिएछन् । ह्रिलाई पर्खेकी रजनीलाई देखेछन् रजनीलाई भेट्न आएको मिलनलाई भेटेछन् थाकेकी रजनी झुक्किएको चाल पाएछन् उनीहरुको खासखुस सुनेर आँखा बन्द गरेछन् । एभरेष्ट टाइम्स सुरु गर्दा हामीले बेलायतमा बस्ने सबै नेपालीहरुको घरमा पु¥याउने सम्भावना देखेका थियौँ । नयाँनयाँ खबर दिन नसके पनि नेपाली भाषाको सम्भार र नेपालीहरुलाई बेलायती समाजमा समायोजन गर्न सकिन्छ भन्ने थियो । पत्रिकाको प्रचारप्रसार र चर्चापरिचर्चा निकै थियो । यसैको हिसाबले खातामा पनि आम्दानी देखिन्थ्यो । तर नगद भने कम हुँदै गएको थियो । एकदुईपटक शेयर रकम पनि थप गरिसकेका थियौँ । अवस्थालाई मुल्याङ्न गरेर वयवस्थापन परिवर्तन गर्ने निणर्य गरियो ।
प्रबन्ध निर्देशकको जिम्मा दुत पुनले लिनुभयो । उहाँको नेतृत्व पछि छपाइ सङ्ख्यामा कम गरियो । अतः ग्राहकहरु कम हुने नै भए । विज्ञापन थप गर्न र खर्च कटौती गरेर आम्दानी बढाउनुभयो । एभरेष्ट टाइम्सले दशौँ वार्षिकोत्सव मनाउन सफल भयो । यसलाई मैले यसरी लेख्न चाहेँ – रुखको चरा देखेर एकजनाले तोप पड्काएछन् अर्काेले राइफल चलाएछन् तेस्रो व्यक्तिले गुलेलीले हानेछन् दुतले ताली बजाएछन् तालीको आवाजले चरा भुइँमा खसेछ । एभरेष्ट टाइम्सको आर्थिक अवस्था भने पुनः खस्किँदै गयोे । नयाँ रणनीतिअनुसार पत्रिका चलाउँदा आउन सक्ने परिणाम अञ्दाज गर्न मुस्किल थिएन । त्यसमा पनि सञ्चार माध्ययममा भएको विकासले छापा पत्रिकाको आकार यत्तिकै पनि साँघुरिँदै थियो । यसै समयमा दुत पुन प्रबन्ध निर्देशकबाट बहिरिनुभयो । तथापी उहाँले आफूलाई एक सक्षम नेपाली पत्रकारको स्थानमा भने उभ्याइछाड्नुभयो । अटोबायोग्राफी नपढ्दै लेखेको यो शुभकामना बायोग्राफी छापिँदासम्म कति सान्दर्भिक हुन्छ । यसको नजरअन्दाज गर्न सहज छैन । त्यो कुरा समयले बताउला । अहिलेलाई शुभकामना ।






