राष्ट्रपति र प्रधानमन्त्रीबीच भेट

काठमाडौं, ४ आषाढ । राष्ट्रपति डा. रामवरण यादवसँग प्रधानमन्त्री सुशील कोइरालाले शुक्रबार भेटवार्ता गरेका छन् । शीतल निवास पुगेर प्रधानमन्त्री कोइरालाले पुनःनिर्माण प्राधिकरण गठनको अध्यादेशका बारेमा राष्ट्रपति डा. यादवसँग छलफल गरेका हुन् । सरकारले आह्वान गरेको दाता सम्मेलन अगावै पुनःनिर्माण प्राधिकरण गठन गर्नुपर्ने भएकाले प्रधानमन्त्रीले प्राधिकरण गठनका लागि ल्याउन लागिएको अध्यादेशका बारेमा राष्ट्रपति यादवलाई जानकारी दिएका थिए ।
दाता सम्मेलनअघि नै सरकारले पुनःनिर्माण प्राधिकरणको ढाँचा बनाउने तयारी गरेको छ । भेटमा प्रधानमन्त्री कोइरालाले संविधान निर्माणका लागि राजनीतिक दलहरुबीच भएको १६ बुँदे सहमति, संविधान निर्माण प्रक्रियालगायतका विषयमा राष्ट्रपति डा. यादवलाई जानकारी गराएको जनाइएको छ ।