नवलपुर समाज यूकेले नेपाली नयाँ वर्षको साङ्गीतिक कार्यक्रम गर्दै

लन्डन । नवलपुर जिल्ला समाज युकेले  नेपाली नयाँ वर्ष २०८० को अवसरमा साङ्गीतिक कार्यक्रम आयोजना गर्ने भएको छ।

समाजले १६ अप्रिल २०२३ आईतबार अल्डरसड स्थित एम्पायर हलमा बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म बार्षिक भेटघाट तथा नयाँ वर्ष विशेष कार्यक्रमको आयोजना गरेको समाजका संयोजक प्रकाश कंडेलले लण्डन नेपाल न्यूजलाई जानकारी दिए ।

समाजका अध्यक्ष महेश देवकोटाले विशेष कार्यक्रम गरी नयाँ वर्ष २०८० लाई स्वागत गरिने बताए। समाजले अङ्ग्रेजी नयाँ वर्षलाई महत्त्व दिए पनि नेपाली नयाँ वर्षको पनि उतिकै महत्त्व भएकोले स्वागत गरी मनाउने कार्यक्रम तय गरिएको छ,’अध्यक्ष देवकोटाले लन्डन नेपाल न्यूज संग भने ।

कार्यक्रममा नेपालका राष्ट्रिय कलाकारहरु र स्थानीय बालबालिकाहरुको नृत्य तथा अन्य रोचक प्रस्तुती समेत रहने भएकाले भेलामा सहभागी हुन उनले सम्पुर्णलाई अनुरोध समेत गरेका छन् ।

विविध प्रकारका खानाको व्यवस्था गरिएको कार्यक्रममा ५ वर्ष मुनिका बालबालिकाहरुलाई प्रवेश निशुल्क गरिएको छ भने ५ वर्ष देखि १० वर्ष उमेर समुहका बालबालिकाको लागि १० पाउण्ड र सो भन्दामाथि उमेर समुहकालाई २०पाउण्ड शुल्क तोकिएको छ ।

नवलपुर जिल्ला स्थायी घर भई हाल बेलायतमा रहेका नेपालीहरुको साझा संस्था नवलपुर जिल्ला समाज युके २०१८ सालमा स्थापना भएको हो । संस्थाले गृह जिल्ला लगायत देशका विभिन्न स्थानमा हुने विभिन्न विपत्ति र सकंटमा सहयोग गर्दै आईरहेको छ