टर्कीको मुद्रा लिराको भाउ नराम्रोसँग खस्किएपछि त्यहाँका राष्ट्रपतिले आफूहरु एउटा रणनीतिक साझेदार हुँदाहुँदै पनि संयुक्त राज्य अमेरिकाले आफ्नो पिठ्युँमा छुरा रोपेको बयान दिएको भोलिपल्ट ह्वाइट हाउसले यसको जवाफ दिएको छ ।
ह्वाइट हाउसले आफूहरुले टर्कीको आर्थिक स्थितीलाई निकै नजिकसँग नियालिरहेको बताएको छ । यद्यपी, ट्रम्प प्रशासनले टर्कीमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको निर्णयका कारण टर्कीमा आर्थिक संकटको स्थिती बनेको राष्ट्रपति रेजेप ताइप एर्दोआनको आरोपको खण्डन गरेको छ ।
एर्दोआनले भनेका थिए, ‘एकतर्फ तपाईं हाम्रो कूटनीतिक सहयोगी भएको दाबी गर्नुहुन्छ । दोस्रोतर्फ तपाईं हामीमाथि हमला गर्दै हुनुहुन्छ । यो स्विकार्य छैन । हामी अफगानिस्तान, सोमालिया स नेटोमा तपाईंसँग काम गरिरहेका छौ र अचानक तपाईं एक बिहान हाम्रो पिठ्युँमा छुरा धस्नुहुन्छ । यो कदापी मञ्जुर हुने छैन ।’
टर्कीमा एक अमेरिकी धर्मगुरुलाई थुनामा राखिएको भन्ने विवादमा राष्ट्रपति ट्रम्पले एल्मुनियम र स्टिलको उत्पादनको आयातमा शुल्क बढाएपछि एर्दोआनले अमेरिकी व्यवहार अस्विकार्य भएको जनाएका छन् ।
टर्कीको मुद्रा भयो कमजोरः
ह्वाइट हाउसका आर्थिक सल्लाहकार केविन हेसेटले टर्कीमा अमेरिकी एल्मुनियम र स्टिलको क्षेत्र निकै सानो छ, त्यसकारण त्यहाँ आर्थिक संकटका लागि ट्रम्प प्रशासनको निर्णयलाई जिम्मेवार देखाउन नहुने बताए ।
बीबीसीका आर्थिक मामलाका संवाददाताले टर्की आफ्नो बजारमाथि नियन्त्रण गर्न नराम्रो सँग असफल भएको बताएका छन् ।
यद्यपी, टर्कीको केन्द्रीय बैंकका केही निर्णयले लिरामाथिको दबाब आंशिक रुपमा कम भएको छ । त्यस्तै, सरकार समर्थक केही व्यापारीले ती खरिदकर्तालाई छुट दिइरहेका छन् जसले लिरालाई डलर, युरो र सुनसँग परिवर्तन गरिरहेका छन् ।
गत हप्ता लिराको मूल्यमा भारी गिरावटका कारण चिन्तित एर्दोआनले टर्कीका जनतासँग लिराको साटो विदेशी मुद्रा साट्न भावुक अपिल गरेका थिए ।
टर्कीलाई जर्मनीको समर्थनः
यसैबीच जर्मनी टर्कीको समर्थनमा उत्रिएको छ । जर्मन चान्सलर एन्गेला मर्केलले टर्कीको अर्थव्यवस्था पतन गराउँदा कसैलाई पनि फाइदा नहुने बताएकी छिन् ।
उनले भनिन्, ‘यदि युरोपेली संघ वरिपरिको आर्थिक अवस्था स्थिर भए, हामी सबैलाई फाइदा हुन्छ त्यसकारण सबैले यस्तो स्थिती बनाउन मद्दत गर्नुपर्छ । जर्मनी टर्कीलाई आर्थिक रुपमा समृद्ध देशको रुपमा हेर्न चाहन्छ । यसमा हाम्रो पनि कल्याण छ ।’
अमेरिकाले गत हप्ता टर्कीबाट आयातित स्टिल र एल्मुनियम उत्पादनमाथि लाग्ने कर दोब्बर गरेका थिए, त्यसपछि टर्कीको मुद्रा लिरामा लगातार भारी गिरावट आएको थियो ।






