काठमाडौं ।एक युवतीले जबरजस्ती करणीको आरोपमा थुनामा रहेका राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न पाटन उच्च अदालतले आदेश दिएको छ ।आफू निर्दोष भएको दाबी गर्दै उक्त मुद्दाविरुद्ध लामिछाने उच्च अदालत पाटन गएका थिए ।
उच्च अदालतका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त बन्द इजलासले लामिछानेलाई धरौटीमा छोड्न आदेश दिएसँगै उनी रिहा भएका हुन् । सन्दीपको पक्षबाट वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, रमण श्रेष्ठ, कृष्ण सापकोटा र अधिवक्ताहरु सरोजकृष्ण घिमिरे, रोशनी पौडेल, मुरारी सापकोटा र सविता भण्डारीले गरेका थिए ।
लामिछानेले देशबाहिर जानु पर्दा सरकारको अनुमति लिनु पर्ने समेत अदालतको आदेशमा उल्लेख छ ।
उनलाई प्रहरीले गत असोज २० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरी हिरासतमा राखेको थियो ।






