एक दशकपछि ओलीको भ्रमणलाई भारतको उच्च प्राथमिकता, राष्ट्रपति भवनमै बस्ने व्यवस्था

kp-sharma-oliकाठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणलाई राजकीय भ्रमण बनाउने तयारी दुई देशले थालेका छन् ।

झण्डै १० बर्षपछि भारतले नेपालका प्रधानमन्त्रीको भ्रमणलाई राजकीय बनाउने तयारी गरेको छ । २०४७ सालपूर्व राजाको भ्रमणलाई मात्र भातरले राजकीय बनाएको थियो । त्यसपछि बनेका कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारीको भ्रमणलाई पनि राजकीय भ्रमण बनाएको थियो ।

त्यसयता भ्रमण गर्ने कुनै पनि प्रधानमन्त्रीले राजकीय भ्रमणको सम्मान पाएका थिएनन् । दोस्रो जनआन्दोलनपछि भारत पुगेका तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको भारत भ्रमणपनि राजकीय भ्रमण थिएन । तर गिरिजाको पहिलो भ्रमण भने भारतले राजकीय भ्रमण बनाएको थियो ।

दोस्रो जनआन्दोलनपछि गिरिजाप्रसाद कोइराला, पुष्पकमल दाहाल, झलनाथ खनाल, माधव नेपाल, बाबुराम भट्टराई र सुशील कोइराला प्रधानमन्त्री बने । झलनाथ खनाल बाहेक सवै प्रधानमन्त्री भारत भ्रमण गरे तर कुनैपनि प्रधानमन्त्रीको भ्रमणलाई भारतले राजकीय भ्रमण बनाएन । ति सवै प्रधानमन्त्रीलाई बस्ने ब्यवस्था होटलमै गराउने गरेको थियो । तर वर्तमान प्रधानमन्त्री ओलीको भ्रमणलाई राजकीय बनाउने र राष्टपति निवासमा राख्ने तयारी भारतले गरेको छ ।

६ दिने भारत भ्रमणका बेला प्रधानमन्त्री ओली भारतीय राष्टपति निवासमा बस्ने भएका छन् । भारत सरकारले त्यही अनुरुप ब्यवस्था गरेको जानकारी नेपाल सरकारलाई गराएको थियो । अमेरिकी र चिनिया राष्ट्रपति भारत भ्रमणमा आउँदा जहाँ बस्ने ब्यवस्था गरिएको थियो, त्यही ओलीको पनि बस्ने ब्यवस्था गरिएको छ ।