लन्डन । हिन्दुहरुको महान चाड विजया दशमीको दिन बेलायतमा टिका ग्रहण गर्ने शुभ साइत बिहान ७ बजेर ४५ मिनेट रहेको छ। विश्व हिन्दु महासंघ बेलायतका अध्यक्ष चिरन्जीबी ढकालले अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णयक समितिको निर्णय अनुसार नै बेलायतमा विहान शुभ साइत रहेको जनाएका हुन । उनले डायस्पोरामा नेपाली समुदायहरुले मनाउदै आएको दशैैलाई यस पटक कोरोनाका कारण सामाजिक दूरी र स्थानीय सरकारको स्वास्थ्य सम्बन्धि निर्देशिका पालना गरि चाडपर्व मनाउनु पर्ने बताए ।
यसै गरी बेलायतमा क्रियाशील ज्योतिष पण्डित निलहरी घिमिरेले शुभ साइतको समय पश्चात जुनसुकै समय पनि टिका, जमारा ग्रहण गर्न गराउन सकिने जानकारी दिएका छन् ।
अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णयक समितिले यस वर्ष विश्वका विभिन्न देशका शहरमा विजयादशमीको टीकाको साइत सार्वजनिक गरिसकेको छ । समितिको बैठकले नेपालको लागि कात्तिक १० गते (अक्टोबर २६) बिहान १०:१९ बजेको साइत उत्तम रहेको उल्लेख गरेको छ ।
दशैंँको मुखमा कोरोना महामारीको संक्रमण उच्च देखिएकोले हामी जो जहाँ जहाँ छौँ त्यहीँ रहेर दसैँ मनाउन पर्ने भएको छ ।यस अघि रोजगारी, अध्ययन एवं अन्य काम विशेषले आफ्नो घर बाहिर रहेका मानिस दशैँको अवसर पारेर घर फर्कने र परिवारका साथ बसेर मनाउने भएकाले यस पर्वलाई पारिवारिक पुनर्मिलनको पर्वका रुपमा लिने गरिन्छ ।






