बेलायतमा भब्य रुपले मनाइयो ३०१औं पृथ्वी जयन्ती-फोटो फिचर/भिडियो-सहित

शिब भण्डारी

लण्डन । बेलायतमा श्री ५ पृथ्वीनारायण शाहको जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवस भव्यताका साथ मनाईएको छ । संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतको आयोजनामा कयौं वुद्धिजिवीहरुको सहभागितामा ११ जनवरीका दिन हिमालयन क्लव रेष्टुरेन्ट सड्बरीमा राष्ट्रनिर्माता श्री ५ पृथ्वी नारायण शाहको ३०१ औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको हो ।

संगठनका अध्यक्ष भरत क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लण्डनस्थित नेपाली राजदूतावासकी उपनियोग प्रमुख रोशन खनाल प्रमुख अतिथी थिइन् भने एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहामगर, साहित्यकार/ लेखक विकल चन्द्र आचार्य, चिकित्सक डा. राघवप्रसाद धिताल (ओबिइ) लगायत विशेष अतिथि थिए ।

कार्यक्रममा उपस्थित अतिथिहरुले राष्ट्रनिर्माता श्री ५ पृथ्वी नारायण शाहको  तस्बिरमा पुष्पगुच्छा चढाइ श्रद्धाञ्जलि अर्पण गरे ।

समाजसेबी एवम् कार्यक्रमका अभियान्ता विमल आचार्यले स्वागत मन्तव्य दिंदै पृथ्वीनारायण शाहलाई कुनै व्यवस्था संग दांजेर मुल्यांकन वा विरोध गर्न जायज नहुने धारणा राखे ।

कार्यक्रममा बोल्दै कार्यक्रमकी प्रमुख अतिथि एवम् नेपाली दूताबासकी उपनियोग प्रमुख रोशन खनालले आफुलाई पनि यस्तो महत्वपूण कार्यक्रममा सहभागी हुने अवसर प्रदान गरेकोमा धन्यवाद व्यक्त गरिन् । उनले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहकै योगदानका कारण आज नेपाल देश भनेर गर्व गर्न पाएको बताईन् ।

त्यस्तै एनआरएनए युकेका अध्यक्ष प्रेम गाह मगरले पनि पृथ्वी नारायण शाहले पुर्याएको योगदानको स्मरण गरे।राष्ट्र निर्माताको योगदानबारे चर्चा गर्दै  पृथ्वी जयन्तीमा सहभागी हुन पाएकामा आयोजक भरत रोकाप्रति आभार व्यक्त गरे।सो कार्यक्रममा समाजसेवी चिकित्सक डा. राघवप्रसाद धिताल (ओबिइ) ले राष्ट्र निर्माताको योगदानबारे चर्चा  गरे ।

विशेष अतिथी साहित्यकार/लेखक बिकलचन्द्र आचार्यले ऐतिहासिक पाटो खोतल्दै गोर्खा नामाकरण, गोर्खा राज्य विस्तार आदिबारे चर्चा गरे । पृथ्वी नारायण शाहलाई देवत्वकरण वा दानवका रुपमा चित्रित गर्न जरुरी नभएको बताउंदै उनले शाहको इतिहास जीवन्त राख्न आग्रह गरे । ‘उनको आर्थिक नीति र कूटनीति अहिले पनि उपयोगी हुनेछ’- आचार्यले स्मरण गरे । उक्त कार्यक्रम साहित्यकार हेमन्त पौडेलले निकै शिष्ट भाषामा सन्चालन गरेका थिए ।

कार्यक्रममा यति नेपाली एसोसिएसन यूकेका अध्यक्ष ध्रुव केसी, नेपाल प्रहरीका पूर्व डिएसपी बाचस्पति रेग्मी, एनआरएनए यूकेका पूर्व उपाध्यक्ष क्याप्टेन बालकृष्ण गुरुङ, ठकुरी समाज यूकेका अध्यक्ष शान्त चन्द, साहित्यकार गोपी सापकोटा, गोर्खाली समाज यूकेका अध्यक्ष अशोक ढकाल,साहित्यकार हरिसिंह थापा लगायतले मन्तव्य दिएका थिए ।

कार्यक्रममा संगठनका अध्यक्ष भरत क्षेत्री आफैंले स्थापना गरेको पृथ्वी पुरस्कार यस वर्ष राजनीतिक शास्त्रका अध्येता डा. राजेश अहिराजलाई १ लाख रुपैयांको पुरस्कार दिने घोषणा गरेका थिए ।गत बर्ष अध्यक्ष क्षेत्रीले घोषणा गरेको एक लाख राशिको पहिलो पुरस्कार प्राप्त गर्ने नेपालका राजनीतिक विश्लेषक प्रा. डा.सुरेन्द्र केसी र यस वर्ष प्राप्त गर्ने राजनीतिक शास्त्रका अध्येता डा. राजेश अहिराजले आफ्नो शुभकामना शन्देशको भिडियो प्रसारण गरिएको थियो ।

आयोजक संस्था संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतका अध्यक्ष एवं कार्यक्रम संयोजक भरत रोका क्षेत्रीले पृथ्वीनारायण शाहको योगदानलाई राजसंस्थासंग मात्रै जोडेर हेर्न उपयुक्त नहुने विचार व्यक्त गर्दै बेलायतको नेपाली समुदायलाई दिवस मनाउन कन्जुस्याईं नगर्न अनुरोध गरे ।उनले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस अब दूतावासमा मनाउन पाइयोस् भन्ने कामना पनि गरे । 

कार्यक्रममा समितिका बरिस्ठ सल्लाहकार एबम सफल ब्याबसायी कृष्ण शाह ,कल्ब फिफ्टी यूकेका अध्यक्ष उत्तम खड्का, धादिङ नुवाकोट समाज यूकेका अध्यक्ष धन तामाङ, गोरखाली समाज यूकेका सल्लाहकार कण दर्लामी,कोसेली संस्थापक अध्यक्ष मदन थापा,बरिस्ठ पत्रकार सुमन खरेल, समाजसेबी किशोर पण्डित,नेपाली जनसम्पर्क समिति बेलायतका महामन्त्री कुश बस्नेत, सन्जिब घिमिरे,सन्त बहादुर गुरुङ,किशोर पण्डित,कल्ब फिफ्टी यूकेका उपाध्यक्ष गुनमान सिंह कार्की,समाजसेबी रबि थापा,साक नेपाली,सुनिल पुडासैनी,प्रकास शाह,सुर्य उपाध्याय,कृष्ण क्षेत्री,दिल जिसी,सुरज कार्की लगायत यहांस्थित विभिन्न संघसंस्थाका प्रतिनिधि सहभागी थिए ।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले पृथ्वीनारायणको योगदानको स्मरण गर्दै शाहले देशमा पुर्‍याएको जुन योगदान छ, त्यसकारण सबै स्वतन्त्र र स्वाभिमानी नागरिक बन्न पाएका उल्लेख गरे।कार्यक्रममा ऊपस्थित सबैलाई स्वादिष्ट खानाको व्यवस्था हिमालयन क्लव नेपाली रेष्टुरेण्टका प्रमुख बल रायमाझीले गरेका थिए ।

संगठनका अध्यक्ष भरत क्षेत्रीले बेलायतमा सन् २००७ देखि एक्लैले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस कार्यक्रम गर्दै आएका छन् । राजनीतिक संक्रमणका बेला पनि क्षेत्रीले आफ्नो एकल प्रयासमा बेलायतका वुद्धिजिवी तथा दूतावास प्रतिनिधि निम्त्याएर पृथ्वी जयन्ती गर्न छुटाएका छैनन् ।

हेर्नुस भिडियो: