सिड्नी । नेपाल कम्युनिष्ट पार्टी एमालेको प्रवास स्थित भातृसंस्था प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशन काठमाण्डौको बुढानिलकण्ठमा हुने भएको छ ।
आगामी नोभेम्बर ५-६ अर्थात कार्तिक १९ र २० गते पार्क भिलेज रिसोर्ट बुढानीलकण्ठमा हुने अधिवेशनलाइ नेकपा (एमाले) का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् ।
दुई दिनसम्म चल्ने अघिवेशनमा प्रवासी नेपाली मञ्चको गठन भएका ४१ देशहरुबाट ३५० जना प्रतिनिधि सहभागी हुनेछन् । अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटी सचिव रमेश पाण्डेले जानकारी दिए ।
पाण्डेले कार्यक्रमबारे जानकारी दिँदै एक प्रेस वक्तव्य जारी गरेका छन् । १६ अक्टोबरमा जारी उक्त विज्ञप्तीमा जनाईए अनुसार अन्तर्राष्ट्रिय अधिवेशन विशेषको लोगो समेत सार्वजनिक गरिएको छ । ‘लोगो’ लाई प्रेस मिट कार्यक्रमका प्रमुख अतिथि नेकपा (एमाले) केन्द्रीय कमिटीका उपमहासचिव विष्णु रिमालले लोकार्पण गरेका थिए ।
अधिवेशनले संसारभरका प्रवासी नेपालीहरुलाई सबल र सक्षम बनाउँदै समृद्ध नेपाल र सुखी नेपाली बन्ने नेपालको राष्ट्रिय संकल्पलाई पूरा गर्ने महान अभियानमा जोडिने उद्देश्यले “सबल प्रवासः समृद्ध नेपाल, सुखी नेपाली” मूल नारा तय गरेको छ ।
अधिवेशनले प्रवासी नेपाली मञ्चको सिद्धान्त, नीति, कार्यक्रम र बिधि-बिधान तर्जुमा गर्नुका साथै अन्तर्राष्ट्रिय नेतृत्व समेत चयन गर्नेछ सचिव पाण्डेले अधिवेशन भव्य रुपमा सफल बनाउन सबैले आआफ्नो ठाउँबाट सहयोग गर्न समेत अनुरोध गरेका छन् ।






