लण्डन । हालै निधन भएकी बेलायती महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टि सम्पन्न भएको छ ।
राजधानी लण्डनको वेस्टमिन्स्टर एबेमा बेलायतकी महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टि कार्यक्रम गरिएको हो । महारानी एलिजाबेथ द्वितीयको गत सेप्टेम्बर ८ मा स्कटल्याण्डको बाल्मोरल दरबारमा निधन भएको थियो ।
राजकीय अन्त्येष्टिको अन्त्यमा दुई मिनेटसम्म राष्ट्रव्यापी मौनधारण गरि दिवंगत महारानीप्रति सम्मान गरिएको थियो । महारानीको अन्त्येष्टिका लागि विभिन्न देशका प्रमुखदेखि राजपरिवारका सदस्य, विश्वका विभिन्न मुलुकका विशिष्ट अतिथिहरू केही दिन पहिलेदेखि नै बेलायत आइपुगेका थिए ।
सन् १९६५ मा विन्स्टन चर्चिलपछि महारानीको अन्त्येष्टि बेलायतमा पहिलो राजकीय अन्त्येष्टि हो । राजकीय अन्त्येष्टिको दिन बेलायत सरकारले औपचारिक रूपमा बिदाको रूपमा घोषणा गरेको छ ।
महारानी एलिजाबेथ द्वितीयको राजकीय अन्त्येष्टिमा सहभागी हुन अमेरिकी राष्ट्रपति जो बाइडेन, भारतीय राष्ट्रपति द्रौपदी मुर्मू,नेपालका परराष्टमन्त्री नारायण खड्कालगायतका विश्व नेताहरू लण्डन आइपुगेका थिए ।
महारानी एलिजाबेथ द्वितीयालाई अन्तिम बिदाइ गर्न ४८ घण्टाभन्दा बढी समयसम्म ज्येष्ठ नागरिक र केटाकेटीहरू पनि अन्त्येष्टि मार्गमा बसेका थिए ।
महारानीको जन्म सन् १९२६ अप्रिल २१ मा लण्डनको मेफेयरस्थित १७ ब्रुटन स्ट्रिटमा भएको थियो । उनी ड्यूक र डचेस अफ योर्ककी पहिलो सन्तान थिइन् ।






