सुदुर पश्चिम समाज अस्ट्रेलियाले गौरा पर्व मनायो ।

सिड्नी । सुदुर पश्चिम समाज अस्ट्रेलियाले धुमधामका साथ गौरा पर्व मनाएको छ । नेपालको सुदुरपश्चिम क्षेत्रको महत्त्वपूण धार्मिक एवम् सांस्कृतिक पर्व गौरा पर्व अस्ट्रेलियामा रहेका सुदरपश्चिम र मध्यपश्चिमेलीहरुले धुमधामका साथ मनाएका हुन् ।

अलावा पार्कमा सेप्टेम्बर ३ शनिवार सम्पन्न कार्यक्रम ११ बजेबाट गौराको पुजा गरि सुरु गरिएको थियो । समाजका अध्यक्ष मोहन देव भट्टले वर्षादका कारण सोचेजस्तो कार्यक्रम गर्न नसकिएपनि उल्लेख्य श्रद्धालु एवम् दर्शकहरुको उपस्थितिमा भव्य रुपमा कार्यक्रम गरिएको उनले बताए ।

कार्यक्रममा मानवअधिकारकर्मी,वरिष्ठ पत्रकार तथा समाजसेवी कणर्देव भट्टको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि भट्टले सांस्कृतिक विविधतामा धनी नेपालको धर्म र संस्कृतिलाई जोगाई राख्न यस्ता कार्यक्रमले महत्वपूर्ण भुमिका खेल्ने बताउँदै अस्ट्रेलियामा समेत गौरा पर्व मनाउन पाउँदा खुसी लागेको बताए ।

कार्यक्रमका लागि नेपालबाट आएका चर्चित कलाकारहरु लक्ष्मी आचार्य,नरेन्द्रराज रेग्मी र स्थानिय कलाकार श्रृखंला जोशीले सागींतिक प्रस्तुती दिँदै उपस्थित दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेका थिए । उनीहरुले देउडा गीत गाउँदा वर्षातको समेत प्रवाह नगरी गोलबद्ध भएर देउडा नाच नाच्दै रमाईलो गरेका थिए ।

कार्यक्रममा समाजका पदाधिकारीहरु उद्धव विष्ट,गोविन्द पाण्डे,पब्लिक अफिसर पुष्करराज भट्ट,सदस्य पवन जोशी,जानकी विष्ट लगायत विभिन्न सघंसंस्थाका प्रमुख तथा प्रतिनिधि र नेपाली लगायत विदेशी पाहुनाहरु पनि सहभागी भएका थिए ।  समाजले २०१९ देखि नियमित रुपमा गौरा पर्व मनाउँदै आएको छ । गौराकै विधि बमोजिम डालोमा गौरा अर्थात भगवान पार्वती र शिवको मुर्ति स्थापना गरेर सुरु गरिएको कार्यक्रममा विभिन्न ठाउँबाट दर्शनार्थीहरु उपस्थित भएका थिए । हिमालय पुत्री पार्वती अर्थात गौरीको गोरो वणर् भएको र उनको विवाह महादेवसगं यही दिनका दिन भएको हुनाले गौरा पर्वमा भगवान शिव पार्वतीको पुजाआजा गरिने प्रचलन रहेको छ ।

कार्यक्रमको सञ्चालन समाज की सदस्य पुजा चन्दले गरेकी थिईन् ।साथै उक्त अवसरमा वरिष्ठ गीतकार नरेन्द्रराज जोशीको गीती एल्बम ‘ऐना आफै बोल्छ’को समेत विमोचन गरिएको थियो ।