सुदुरपश्चिम समाज अष्ट्रेलिया न्यू साउथ वेल्सको गौरा पर्व भव्य रुपमा सम्पन्न

सिड्नी । सुदुरपश्चिम समाज अष्ट्रेलिया न्यू साउथ वेल्स राज्यले गौरा पर्व धुमधामका साथ मनाएको छ ।समाजले ३ सेप्टेम्बरमा न्यू साउथ वेल्स राज्य स्थित क्रोयडोन पार्कको कोरियन हलमा विविध सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम सहित गौरा पर्व मनाएको हो ।

नेपालको सुदुरपश्चिम क्षेत्रमा मनाईने गौरा पर्वलाई अस्ट्रेलियामा रहेका नेपालीहरुले पनि धुमधामका साथ मनाएका हुन् । उक्त अवसरमा सुदुरपश्चिम क्षेत्रमा प्रख्यात देउडा नृत्य, हुड्खेली नृत्य, नेपाली मौलिक खानाका परिकार, बाल उद्यान सहित गौरा नृत्य र नेपालका चर्चित कलाकारहरुले आफ्नो सागींतिक प्रस्तुती दिएका थिए ।

समाजका अध्यक्ष लक्ष्मी जोशीले स्वागत मन्तव्य प्रस्तुत गर्दै कार्यसमिति र समाज सँग जोडीएका सबै साथीहरुको साथले भव्य रुपमा सबैको साथ र सहयोगबाट कार्यक्रम सम्पन्न भएको बताए ।

कार्यक्रममा गैर आवासीय नेपाली सघं एनआरएनए अष्ट्रेलियाका अध्यक्ष नन्द गुरुङको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गुरुङले सुदुर पश्चिम क्षेत्रको भाषा संस्कृति अष्ट्रेलियामा आएर थाहा पाउने मौका दिएको प्रति समाजलाई धन्यवाद व्यक्त गरे ।

आफु नेपालको पश्चिम क्षेत्र लमजङुमा हुर्किएको हुनाले नजिकबाट सुदुरपश्चिम क्षेत्रको भाषा संस्कृति नबुझेपनि समाजले यस्तो महत्वपूर्ण कार्यक्रम आयोजना गरेर ती भाषा कला र संस्कृति सिक्ने अवसर दिएको बताए । उनले एनआरएनए साझा संस्था भएकाले यस्ता नेपाल बोल्ने र नेपालको मौलिकता बोकेका कार्यक्रमहरुलाई सदैव साथ र सहयोग गर्ने बताउँदै सहकार्य गरेर अगाडी बढ्नुपर्ने बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष एवम् न्यू साउथ वेल्स राज्य परिषद सयोंजक देव गुरुङले सुदर पश्चिम समाज अष्ट्रेलिया न्यू साउथ वेल्सले नेपालको मौलिक संस्कृति र धार्मिक परम्परा जोगाईराख्न महत्वपूर्ण कार्य गरेको बताए । उनले एनआरएनएले पनि समाजले जस्तै सामाजिक क्षेत्रमा विभिन्न कार्य गरेको स्पष्ट पार्दै समाजसगं हातेमालो गरेर आगामी दिनमा अझै थुप्रै यस्तै कार्यक्रम गर्ने आशा व्यक्त गरे । उनले एनआरएनएको सदस्य भएर समाजसेवामा लाग्न प्रेरणा दिँदै आफुले सदैव सहयोग र साथ दिने प्रतिबद्धता व्यक्त गरे ।

त्यस्तै न्यू साउथ वेल्स राज्यका महावाणिज्य दुत दिपक खड्कालले सांस्कृतिक विविधताले भरिपूर्ण नेपालको एउटा संस्कृतिलाई विदेशमा रहेर समेत जोगाउन र प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेलेका भन्दै सरकारलाई समेत यी संस्कृतिको संरक्षण गर्नुपर्छ भन्ने सन्देश सहित सचेत गराएको बताए ।

कार्यक्रममा नेपालका चर्चित कलाकारहरुले आफ्नो सागींतिक प्रस्तुती दिँदै देउडा गीत समेत प्रस्तुत गर्दा उपस्थित दर्शकहरु झुमी झुमी नाचेका थिए । गायिका श्रृखंला जोशी, सन्ध्या जोशी र जितेन्द्र मल्ल लगायतकोे सागींतिक प्रस्तुतीले सागींतिक एवम् मनोरञ्जनात्मक माहोल सिर्जना गरेको थियो ।

युवा गजलकार जितेन्द्र मल्लले गजल प्रस्तुत गर्दा उपस्थित दर्शकहरुलाई तताएको थियो । अस्ट्रेलियामा मल्ल गजलकारमा निकै नै चर्चित छन् । उनले समसामयिक विषयमा चोटिलो गजलहरु प्रस्तुत गर्दछन् ।

उक्त अवसरमा कार्यक्रम सम्पन्न गर्न विभिन्न ठाउँबाट सहयोग गर्ने सहयोगीहरुलाई सम्मानपत्र र मायाको चिनो सहित सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन केशवराज जोशी र राधिका बोहोराले गरेका थिए ।