चार शक्तिको बैठक आज साँझ पुनः बस्ने

काठमाडौँ, २२ जेठ । संविधानका विवादित विषयमा छलफलका लागि आज बिहान बोलाइएको चार राजनीतिक शक्तिको बैठक साँझ ४ बजेका लागि सरेको छ । बैठकका लागि नेपाली काँग्रेस, एकीकृत नेकपा (माओवादी) र संयुक्त लोकतान्त्रिक मोर्चाका शीर्ष नेता प्रधानमन्त्री निवास बालुवाटार पुग्नु भएपनि नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली अस्वस्थताका कारण अनुपस्थित हुनु भएपछि बैठक साँझ सरेको हो ।
केहीबेर अनौपचारिक छलफल गरी बाहिरिनुभएका मोर्चाका संयोजक विजयकुमार गच्छदारले राज्य पुनःसंरचनाका बारेमा छदेखि आठ प्रदेशसम्म जाने विषयमा लगभग सहमति भएको र त्यसबारे साँझ छलफल हुने बताउनुभयो । बिहीबार चार दलका शीर्ष नेताको बैठकले सहमतिको जिम्मा प्रमुख नेतालाई दिएको थियो ।
यता एमाले अध्यक्ष ओलीका स्वकीय सचिव रमेश आचार्यले ओली अस्वस्थ हुनुभएको नभई अन्य व्यवस्थापनका कामका कारण बैठक सरेको राससलाई जानकारी दिनुभयो ।