स्व. पत्रकार बोहोराको परिवारलाई सहयोगका लागि लन्डनमा पनि आर्थिक संकलन

लन्डन– स्व. पत्रकार कर्ण बोहोराको परिवारलाई सहयोगका लागि लन्डनमा पनि आर्थिक संकलन सुरु गरिएको छ ।

दुई दशकदेखि सुदूरपश्चिमलाई आफ्नो कर्मथलो बनाउँदै आएका पत्रकार स्वर्गीय कर्ण बोहोराको परिवारको सहयोगका लागि नेपाल पत्रकार महासंघ, बेलायतले आर्थिक संकलन अभियान सुरु गरेको हो ।

मृगौला पीडित श्रीमतीको उपचारका लागि काठमाडौँ आएका बेला २०७३ मंसिर १० गते ३८ वर्षको उमेरमा बोहोराको भेनस अस्पतालमा निधन भएको थियो । उनको निधनबाट उनकी मृगौला पीडित ३७ वर्षीया पत्नी पत्रकार ममता बोहोराको जीवन अन्यौलमा छ भने ७२ वर्षीय आमा र चार नाबालक भतिजाभतिजीको सहारा गुमेको छ ।

बोहोरा जन्मिनु तीन महिनाअघि नै उनको पिताको निधन भइसकेको थियो भने दाजु भाउजु दुवैको असामयिक मृत्युपछि चारजना भतिजा भतिजीको पालनपोषणको जिम्मा उनैले लिएका थिए ।

महाविपत्तिमा सकेको सहयोग गर्नु मानवीय दायित्व ठानी नेपाल पत्रकार महासंघ यूकेले सहयोग संकलन सुरु गरेको अध्यक्ष नरेश खपांगीमगरले जनाए ।

सहयोगका लागि नेपाल पत्रकार महासंघ यूकेको निम्न बैँक खातामा सहयोग जम्मा गरिदिन महासंघले सबै सहयोगी दयालु महानुभावहरुमा विनम्र अनुरोध गरेको छ ।