एनआरएन यूकेको अध्यक्षमा पुनम गुरुङले गरिन् आफ्ना प्रतिबद्धता सहित उम्मेदवारी घोषणा

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएन) युकेकी उपाध्यक्ष पुनम गुरुङ ले एनआरएन युकेको  नया कार्यसमिति (२०१९-२१) का लागि अध्यक्ष पदमा उम्मेदवारीको औपचारिक घोषणा गरेकी छिन् । अल्डरशटको एम्पायर हलमा आइतबार आयोजित एक समारोहमा समुदायका अगुवा, आफ्ना सहयोगी तथा पत्रकार हरुको उपस्थितिमा उनले अध्यक्षमा उम्मेदवारी घोषणा गरेकी हुन् ।
उम्मेद्वारी घोषणा गर्दै एनआरएन यूके अध्यक्ष उम्मेदवार पुनम गुरुङ
घोषणासभामा आफ्नो उम्मेदवारी घोषणा गर्दै पुनम गुरुङले एनआरएन यूकेको अध्यक्षका रुपमा समुदायलाई सेवा गर्ने आफ्नो आकांक्षामा सहयोग गर्न बेलायतबासी सम्पुर्ण नेपालीहरुलाई आग्रह गरिन् । ‘डेढ दशकको इतिहासमा पहिलोपटक आज तपाईंहरुकै एउटा चेली संस्थालाई नेतृत्व दिने लक्ष्यसहित अघि बढ्ने कोशिस गर्दैछु । मलाई कहाँसम्म पुर्याउने र काम गर्ने अवसर दिने,नदिने त्यो सबै तपाईंहरुकै हातमा छ, बेलायतबासी नेपालीसमक्ष सहयोगको लागि अपील गर्दै उनले भनिन्, ‘मलाई विश्वास गर्नुहोस् । म तपाईंहरुको गुन चुकाउने गरी काम गर्नेछु ।
आफ्नो उम्मेदवारीमार्फत बेलायतस्थित सम्पुर्ण नेपालीको एकताको लागि सन्देश दिन खोजेको बताउँदै पुनमले समुदायका हरेक तहका भावनालाई समेट्दै संस्थालाई साँच्चीकै सबैको साझा बनाउने प्रतिबद्धता समेत गरिन् ।
कार्यक्रमका अध्यक्ष एवम् ‘पुनम गुरुङ जिताऔं अभियानका संयोजक लेफ्टीनेन्ट (रि) चन्द्र गुरुङले सामाजिक क्षेत्रमा एक सबल र कुशल नेतृत्वकर्ताका रुपमा स्थापित भइसकेकी पुनम एनआरएन यूकेको नेतृत्वको लायक रहेको बताए। महासचिव पदका उम्मेदवार फडिन्द्र भट्टराईले प्रवासमा बस्ने दशौं लाख नेपाली र उनीहरुका भावनाको प्रतिनिधित्व गर्ने एनआरएन अभियानमा सवल नेतृत्व र दुरदर्शी भिजनअबको आवश्यकता रहेको औंल्याए ।
महासचिव पदका उम्मेदवार भट्टराई र योगेश गुरुङले सन्चालन गरेको उक्त  घोषणासभामा शुभकामना दिन  बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि र एनआरएन अभियन्ताहरु उपस्थित थिए ।  त्यसअवसरमा नेपाल पत्रकार महासंघ यूके अध्यक्ष नरेश खपांगी मगर, अनलाइनखबरका सम्पादक मातृका पौडेल, एनआरएन आइसिसी सदस्य रामशरण सिम्खडा, जनजाति महासंघ यूके अध्यक्ष जंग सुनुवार, फोनिज यूके अध्यक्ष प्रमिला राई, एनआरएन आइसिसी समाचार संयोजक चिरन शर्मा, एनआरएन आइसिसी सदस्य शान्ति थापा कुंवर, साझा नेपाली समाज यूकेका पूर्व अध्यक्ष रणबहादुर केसी तथा मिडल्याण्डका उम्मेदवारहरु दयानिधि सापकोटा, पशुपति पोखरेल, कोशलेश्वर ( कृष्ण) ढकाल, विष्णु चालिसे र गोमा पौडेल लगायतले उनलाई सफलताको शुभकामना दिएका थिए ।
त्यसैगरी, ग्रेटर रश्मोर नेपाली कमयुनिटी अध्यक्ष जीव बेल्वासे, तमु धिं यूके अध्यक्ष नन्दजंग गुरुङ, मगर संघ यूके अध्यक्ष सुनिल राना, तमु प्ये ल्हु संघ यूके अध्यक्ष मेजर खुशिमान गुरुङ, तमु समाज यूके अध्यक्ष शिवचन्द्र गुरुङ , गेसो अध्यक्ष कृष्णकुमार राई , एनआरएन अभियन्ता कृष्ण तिमल्सेना, थर्क राना,एशिएन महिला एशोसिएसन ( आमा) अध्यक्ष विभा गुरुङ, पासा पुचः साउथ ईस्ट लण्डनका अध्यक्ष सुशील प्रजापती, नेपाली समाज कोल्चेस्टर अध्यक्ष मेजर उदय गुरुङ, बिजिडब्लुएसका मिनबहादुर गुरुङ, मनिषा श्रेष्ठ ,आकांक्षा गुरुङ छन्
यसैगरी आरजीएनएस अध्यक्ष हरिगोविन्द गुरुङ, साउथ ईस्ट तमु धिं पूर्व अध्यक्ष श्रीचन्द्र गुरुङ आइएनएस यूकेका उपाध्यक्ष थम विक,मिस युके नेपालकी सल्लाहकार नन्दकुमारी गुरुङ, पाल्पाली समाज युकेका अध्यक्ष वाचस्पति रेग्मी, मेजर कृष्ण गुरुङ, बिसीसी अध्यक्ष नरेश गुरुङ, तमु फोरम निर्देशक क्याप्टेन राजु गुरुङ लगायतका विभिन्न संघसंस्थाका प्रतिनिधि र एनआरएन अगुवाहरुले पनि एनआरनन यूके अध्यक्षका लागि पुनमको उम्मेदवारीमा समर्थन गर्दै शुभकामना दिए ।
गुरुङका चुनावी प्रतिबद्धतामा के के छन् ? प्रतिवद्धता जस्ताको तस्तै-

१. राष्ट्रिय हितको सवालमा-

(क) नेपाली नागरिकताको निरन्तरता, समृद्ध नेपाल निर्माणमा हाम्रो अग्रसरता

गैर–आवासीय नेपालीहरुको कमाइले नेपालको अर्थतन्त्र धानिएको छ । देशको एकतिहाई ढिकुटी भर्ने यी गैर–आवासीय नेपालीहरुलाई ‘समृद्ध नेपाल निर्माण’ को दिगो साझेदार बनाउने एउटै मात्र सुत्र “नेपाली नागरिकताको निरन्तरता” हो । मैले नेपाली आमाका यी सन्ततीहरुलाई सदा नेपाली नै बनाईराख्न ‘एक पटकको नेपाली, सधैंको नेपाली’ भन्ने मूल मन्त्रलाई आत्मासाथ गरी ‘नेपाली नागरिकताको निरन्तरता’ अभियानलाई तिब्र बनाउने योजना बनाएकी छु । यस प्रयोजनको लागि नागरिकता निरन्तरताको अभियन्ताहरुबीच एउटा स्थायी संयन्त्र गठन गर्नेछु, र नेपाल सरकार, संसद, राजनैतिक नेतृत्व, राष्ट्रसेवक कर्मचारी, नागरिक समाज र मिडियासंगको निरन्तर पहलकदमीलाई अघि बढाउनेछु ।

(ख) नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाऔं

नेपाल सरकारले सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’ घोषणा गरेको छ । यसलाई सफल बनाउन अधिकतम बेलायतवासी पर्यटकहरुलाई नेपाल भ्रमणको निम्तो दिने काममा मेरो कार्यसमितिले अग्रसरता लिनेछ । यसको प्रयोजनको लागि ‘नेपाल भ्रमण वर्ष २०२० सहयोग समिति’ को गठन गरी आवश्यक कार्य गर्नेछु ।

(ग) सामूहिक लगानी कोषको निर्माण

हाम्रो मातृभुमी नेपाल अहिले राजनीतिक स्थिरताको जगमा बिकास र समृद्धिको लक्ष्य लिई अघि बढेको छ । यो महान लक्ष्य परिपूर्तिको लागि गैरआवासीय नेपाली संघले दशअरब रुपैयाको “सामूहिक लगानी” भित्र्याउन नेपाल सरकारसंग सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । देशको जलविद्युत, पर्यटन, कृषि, उद्योग, बाणिज्य, व्यापार, बैंकिङ र शिक्षाजस्ता उच्च प्राथमिकताका क्षेत्रहरुमा लगानी गरी उच्चदरको आय आर्जन गर्दै देशमा रोजगारी सृजना गर्न मद्दत पुरयाउने हेतुले बेलायतबाट लगानी गर्न प्रोत्साहित गर्दै सबै क्षेत्रबाट अधिकतम लगानी भित्र्याउने योजना बनाएकी छु । यस प्रयोजनको लागि “गैरआवासीय नेपाली सामूहिक लगानी कोष समिति” गठन गरिनेछ र सोही समितिको माध्यमबाट कोषलाई व्यवस्थित गरिने योजना बनाएकी छु ।

(घ) ब्रिटेन–नेपाल र नेपाली–ब्रिटिश समुदायबीचको प्रगाढ सम्बन्धलाई प्रवर्धन गर्ने

हामीले ब्रिटिश सेनाको अभिन्न अंगको रुपमा ग्रेट–ब्रिटेनको सुरक्षाको लागि लड्दै आएको २०४ वर्ष नाघेको छ । ग्रेट–ब्रिटेन आज संसारको एक बैभवशाली राष्ट्रको रुपमा स्थापित छ भने नेपाल एक अति गरिव राष्ट्र । यस्तो भेद किन भयो? ब्रिटेनसंगको हाम्रो सम्बन्ध नेपालको उन्नतिप्रगतिमा किन फलदायी बनेन? यस विषयमा गम्भिर समिक्षा गर्नुपर्ने बेला आएको छ । मेरो कार्यकालमा नेपाल–ब्रिटेन सम्बन्धमा विगतकालको समिक्षा गर्न दुबै देशसंग छलफल गरी नेपालको पुरानो र पहिलो द्धौत्य सम्बन्ध कायम भएको ब्रिटेनसंगको सम्बन्धलाई अझै प्रगाढ बनाई नेपालको अधिकतम हितमा उपयोग गर्न नागरिकको तहबाट आवश्यक भूमिका लिने प्रतिबद्धता व्यक्त गर्दछु ।

बेलायतमा नेपालीहरुको उपस्थिति नरहेको लगभग कुनै काउन्टी छैनन् । यहाँका ठुला–साना शहरदेखि कुना कन्दराका दुर्गम गाउँलेवस्तीहरुमा नेपालीहरु बसेकाछन् । बेलायतका नेपालीले आफुलाई सैनिक ब्रिगेडका अब्बल सेना, युनिभर्सिटीका प्रतिष्ठित शिक्षक, हस्पिटलका सबल डाक्टर–नर्स, प्रोजेक्टका सफल इन्जिनियर, राजनीतिका इमान्दार काउन्सिलर, सानाठुला रोजगारी र बन्दव्यापार–व्यवसायका सफल व्यक्तित्वको रुपमा आफुलाई स्थापित गरेको छ । यस गतिवान नेपाली समुदायलाई मूलधारको ब्रिटिश समाजमा एकाकार गर्नुपर्ने जरुरी देखेकी छु । यस कुरालाई गम्भिरतापुर्वक मनन गर्दै बेलायतका नेपाली र ब्रिटिशहरुबीचको सम्बन्धलाई प्रगाढ बनाउने कार्यलाई मेरो कार्यकालमा अझ तिब्रता दिने प्रतिबद्धता व्यक्त गर्दछु । यसले नेपाली समुदायको हितलाई प्रवर्धन गर्ने विश्वास लिएकी छु ।

(२) सामूदायिक हितको सवालमा-

(क) गौरवशाली इतिहासको माग, भूपू गोर्खा सैनिकको आन्दोलनमा हाम्रो साथ सन् १८१६ को सुगौली सन्धिबाट सुरुभएको गोर्खा भर्ति परम्पराले २०४ वर्ष बढिको बलिदानी इतिहासको रचना गरेको छ । गोर्खाहरुले एकातिर ब्रिटिश सेनाको अभिन्न अंगको रुपमा संसारका थुप्रै रणभूमिहरुमा आफ्नो पराक्रम सिद्ध गरी बहादुर लडाकुको दर्जा पहिरिएका छन् भने अर्कोतिर नेपाल–बेलायत सम्बन्धको महत्वपूर्ण सेतुको भूमिका निर्वाह गरेकाछन् । आज ती वीरगोर्खाहरु ब्रिटिश सरकारले आफूलाई पेन्सन, तलव, भत्ता, र सुविधा आदिमा विभेद गरी अन्यायमा पारेको भन्दै आन्दोलन गरिरहेका छन् । म वहाँहरुको मागप्रति उच्चसम्मानपुर्वक ऐक्यवद्धता व्यक्त गर्दछु । मेरो कार्यकालमा उक्त मागहरु पुरा गराउन आवश्यक पहलकदमी लिनेछु । यस सम्बन्धमा ‘गोर्खा कल्याणकारी समिति’ को गठन गरी बेलायत सरकार, नेपाल सरकार र सम्बन्धित निकायहरुमा गई एनआरएनको पुरै शक्ति लगाई आवश्यक काम कारवाहीहरु अघि बढाउने छु ।

गोर्खाहरु नेपाल–ब्रिटेन–भारतबीच सन् १९४७ मा सम्पन्न भएको त्रिपक्षीय सन्धि अन्तर्गत ब्रिटिश सेनामा भर्ति भएका हुन् । उनिहरु नेपाल सरकारको अनुमतिबाटै बिगत २०४ वर्षदेखि ब्रिटिश सेनामा कार्यरत रहेकाले यसै सन्धि अन्तर्गत आफ्नो सैनिक सेवाको सिलसिलामा ब्रिटिश नागरिकता लिईएकै कारणले नेपालको बंशजको नागरिकताबाट बन्चित गरिन हुँदैन भन्ने मेरो दृढ धारणा रहेको छ । म गोर्खाहरुको नेपाली नागरिकताको निरन्तरताका लागि जरुरी व्यवस्था गर्न नेपाल सरकार र सम्बन्धित निकायसंग आवश्यक पहलकदमी लिने प्रतिबद्धता व्यक्त गर्दछु ।

ब्रिटिश साम्राज्य जोगाउन, सत्रुको तातो बम, गोलाबारुद र मेशिनगनको मोहरामा आफ्नो ज्यान थाप्ने वीर गोर्खालीहरु बेलायतमा निकै कष्ठ भोगीरहनुपरेको छ । यी वयोबृद्धा बाआमाहरुमा भाषा र ज्ञानको अभावले दैनिक जिवनमा आवश्यक कुराहरुमा समेत दुखः पाईरहेको मैले देखेकी छु । यी समस्याहरुलाई हल गर्न तत्कालीन र दिर्घकालीन योजनाहरु बनाई गोर्खा कल्याणकारी समितिको माध्यमबाट अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु ।

(ख) महिला सशक्तिकरण र महिला उद्यमशिलताको विकास

घरायसी चुलो चौकाको परिधीबाट महिलाहरुलाई कसरी उन्मुक्ति दिने? बेलायतमा हाम्रा आमा–दिदीबहिनीहरु घरभित्रैको हिंशामा परेका त छैनन्? यसबारे हामी सचेत हुनु जरुरी छ । महिलाहरु खाना पकाउने, बालबच्चा हेर्ने र घरधन्दा चलाउनेमा मात्र होईन सफल उद्यमी र व्यवसायी भएर अघि बढ्नुपर्ने पनि छ । एनआरएनको मूलधारमा महिला सहभागिताको सुनिश्चितता गर्नुपर्ने पनि छ । यसका लागि महिला उद्यमशिलता, सशक्तिकरण र जनचेतनाका अभियानहरु सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।

(ग) खेलकूद, अनुशासन र विकास, जगाऔं युवकहरुमा आत्मविश्वास

बेलायतमा हाम्रो युवापुस्ताको संख्या बिशाल छ । उनिहरु ज्ञान, विज्ञान, कला र दक्षतामा निकै अव्वल छन् । उनिहरु बेलायतको मूलधारको प्रतिष्पर्धामा प्रवेश गर्न खोजी रहेका छन् । यद्यपी उनिहरुमा बिदेशीपनको मनोविज्ञान केही बिद्यमान रहेकोले पूर्ण–विश्वस्त भई प्रतिष्पर्धामा उत्रन कठिनाई भएको मैले महशुस गरेकी छु । परिणामतः कोही होनहार युवाहरु बाटो बिटुलिएर अस्वभावीक लतमा फस्न पुगेको पनि देखेकीछु । यिनै यावत समस्याहरुबाट मुक्त गर्न र ती नवजवान युवाहरुमा क्षमताको पूर्णविकास गरी अनुशासन र उज्जवल भविष्यप्रतिको आत्मविश्वास जगाउन युवा खेलकूद, युवा शिक्षा, युवा जागरण, युवा उद्यमजस्ता कार्यक्रमहरु आयोजना गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । हालै नेपालमा सम्पन्न आठौं राष्ट्रिय खेलकूद प्रतियोगितामा गैरआवासीय नेपाली खेलाडीहरुले विभिन्न इभेन्टमा १४ वटा मेडल जितेको परिप्रेक्ष्यमा हाम्रा युवकहरुमा खेलकुद, अनुशासन र विकासको अवधारणालाई अगाडि बढाउँदै उनीहरुमा अन्तरनिहित क्षमतालाई प्रस्फुटन हुन मद्दत पुरयाउने प्रतिबद्धता व्यक्त गर्दछु ।

(घ) बौद्धिक ज्ञान र प्रबिधिको हस्तान्तरण अभियान
बेलायतमा विभिन्न पेशा–व्यवसायमा रहेका बौद्धिक समुदायको बुद्धि, ज्ञान, सीप, र प्रविधिलाई नेपालको हितमा उपयोग गर्ने गरी व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । एनआरएनको ‘नलेज ट्रान्सफर कमिटी’ मार्फत यस कार्यलाई संयोजन गर्ने योजना बनाएकी छु ।

(ङ) नेपाली संघसंस्थाबिचको एकतालाई सुदृढ बनाउने
बेलायतमा हामीले अधिकतम संघसस्थाहरु गठन गरी आपसी सहयोग र मित्रता आदानप्रदानको पवित्र कार्य शुरु गरेका छौं । सयौंको संख्यामा गठित हाम्रा संघसंस्थाहरुबीच केही साझा उद्देश्यहरु पहिल्याई सबैलाई एकैठाउँमा संगठित गर्नु जरुरी देखेकोछु । यसै मर्मलाई आत्मसात गरी यी संघसस्थाहरुको स्वतन्त्र अस्तित्वलाई सम्मान गर्दै, उनिहरुबीचको आपसी सम्बन्धलाई अभिबृद्धि गर्न नेपालीहरुको साझा संस्था एनआरएन अभियानलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दछु । एनआरएन युकेको संघसंस्था प्रतिनिधि परिषदको माध्यमबाट यस कामलाई प्रभावकारी बनाउने व्यवस्था मिलाउने छु । जसअन्तर्गत एनआरएनको विस्तारको लागि आवश्यक रोड सो कार्यक्रमहरु आयोजना गर्ने छु ।

(च) बेलायतमा नेपाली व्यापार र उद्यमशिलताको प्रवर्धन बेलायतका नेपाली उद्यमीहरुबीच नेपाली उद्यमशीलताको विकासको लागि आवश्यक सेमिनार तथा तालिमहरुको व्यवस्था गरिने छ ।

३. नेपाली राष्ट्रिय पहिचानको प्रवर्धनको सवालमा-

(क) बेलायतको जनगणनामा नेपालीको पहिचान स्थापित गर्ने
बेलायतको सरकारी कागजातहरुमा नेपाली Ethnicity लाई समाविष्ट गरिएको छैन । जनगणनाको क्रममा धेरै नेपालीहरु छुट्नपुगी थोरै जनसंख्या देखिंदा यस सुचिमा नपर्नुकासाथै सरकारी नीति कानुन, योजना र बजेट निर्माणबाट लाभ लिनेमा समेत नेपाली समुदाय पछि परेकाछन् । यस कुरालाई मनन गरी मेरो कार्यकालमा जनगणना २०२१ मा सबै नेपालीहरुको सहभागीतालाई सुनिश्चित गराई नेपाली Ethnicty लाई स्थापित गर्ने अभियान अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दछु ।

(ख) नेपालीमन नेपालीपन, एनआरएनको नेपाली घर निर्माण
बेलायत एनआरएनको उद्दगम स्थल हो । यहाँ नेपाली विविधताको हिसाबले मिनी नेपालको स्वरुप बिद्यमान छ । तीन पुस्ताका नेपालीहरु बसोबास गर्ने स्थलो भएकोले हाम्रो सामाजिक–आर्थिक स्तर निकै बृद्धि भएको छ । दैनिक जोहो टार्नेबाट बचत कसरी गर्ने भन्ने तहमा हामी उठेका छौं । अब हामीहरुको काँधमा एउटै जिम्मेवारी छ, ‘हाम्रो नेपालीमन र नेपालीपन’ लाई कसरी माथी उठाउने? यहि उद्देश्यले बेलायतमा नेपाली पहिचान झल्किने ‘नेपालीहरुको साझा घर’ निर्माण गर्ने परियोजना निकै समयदेखि प्रयासको रुपमा अघि बढिरहेको छ । मेरो कार्यकालमा यस अभियानलाई मूर्तरुप दिनेगरी ठोस कार्यक्रमहरु ल्याउने प्रतिबद्धता व्यक्त गर्दछु ।

(ग) नेपालीको मौलिक भाषा, साहित्य, कला र संस्कृतिको प्रवर्धन

जसरी नेपाल १२४ भन्दा बढि जातजाती, भाषाभाषी, र संस्कृति बोकेका नेपालीहरुको रंगीन फूलहरुको माला बनेको छ, यसरी नै बेलायतमा यिनै साझामालालाई ‘एउटै थुङ्गा फूल’ बनाउने अभियानमा एनआरएनलाई अघि बढाईरहेका छौ । हामीले एकातिर यी विविधताको विचमा एकता कायम गर्नुछ भने अर्कोतिर विविधताहरुको संरक्षण र संवर्धनमा त्यतिकै ध्यान दिनुछ । हामीले हाम्रो मौलिक पहिचानलाई गुमायौं भने आफ्नो अस्तित्व पनि गुमाउनेछौं । यसलाई जोगाईराख्न बेलायतमा रहेका बाजे–बज्यै, बा–आमा र नाती–नातिना तीनै पुस्ताका सन्ततीहरुबीच विविध अन्तरक्रियाहरुको आयोजना गरी आफ्नो पहिचानको पुस्तान्तरण गर्ने कुरालाई प्राथमिकताकासाथ अघि बढाउनुपर्ने आवश्यकता मैले देखेकी छु । यसका लागि तीनै पुस्ताको संयुक्त साँस्कृतिक कार्यक्रमहरु, भाषा कक्षाहरु र नेपाली चाडपर्वलाई योजनाबद्ध मनाउने कार्यक्रमहरुलाई प्राथमिकतासाथ अघि बढाउने प्रतिवद्धता व्यक्त गर्दछु । हाम्रा बालवालिकाहरुका लागि बेलायतस्थित नेपाली समुदायसंग समन्वय गरी नेपाली भाषाको पठनपाठनको व्यवस्था मिलाउने छु ।

४. मानवीय र कल्याणकारी कामको सवालमा-
(क) ‘परोपकार नै पुण्यः दुखःमा हात, आँशुमा रुमाल
नेपाल– भूकम्प, बाढीपहिरो, आँधीहुरी, अतिबृष्टि–अनाबृष्टि, हिमपहिरो, असिनापानी, चट्याङ्ग, आगजनी, सडक–हवाई दुर्घटनाजस्ता प्रकोपहरुबाट उच्च जोखिममा रहेको मुलुक हो । बहुसंख्यक मृत्युको कारण यिनै प्रकोप बनेका छन् । गैरआवासीय नेपाली संघले यस्ता ‘दुखःमा साथ दिंदै आशुमा रुमाल लिएर’ अग्रभागमा मद्दत गर्दै आएको छ । मेरो कार्यकालमा यी प्राकृतिक तथा मानवीय प्रकोपहरुबाट दुखःमा परेका नेपालीहरुको पिडामा मलहम लगाउने कामलाई उच्च प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्दछु । यसको प्रयोजनको लागि एउटा स्थायी ‘कल्याणकारी सहयोग समिति’ गठन गर्नेछु । यसै समितिलाई परिचालन गरी पीडितहरुको मद्दतको लागि नगद तथा जिन्सी, लत्ताकपडा, भाडाकुँडा र सरसामानहरु नियमित रुपमा संकलन गर्ने र उक्त सामानहरुलाई कार्गोमार्फत नेपालको गोदाममा पठाई प्रकोपको समयमा पीडितहरुले पाउने गरी वितरणलाई व्यवस्थित गर्ने योजना बनाएकी छु ।

(ख) टेलिमेडिसिन सुविधाको व्यवस्था गर्ने

नेपालका स्वस्थ्य चौकी र हस्पिटलहरुमा टेलिमेडिसिनको व्यवस्था गर्न आवश्यक पहल गर्ने प्र्रतिवद्धता व्यक्त गर्दछु । यसको प्रयोजनको लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयसंग यथोचित संयोजन गर्ने व्यवस्था मिलाउनेछु ।

५. समसामयिक विषयहरुको सवालमा-

(क) गैरआवासीय नेपालीलाई मतदानको अधिकार, एनआरएन मन्त्रालय हाम्रो सरोकार

नेपालको करिब एक चौथाई नागरिकहरु कुनै न कुनै हिसाबले नेपाल बाहिर छन् । नेपालको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको रेमिट्यान्सको आधार उनै गैरआवासीय नेपाली हुन् । उनीहरुमध्ये कैयौं श्रमको शिलशिलामा विदेशमा अनेकौं पीडामा छन्, अस्वस्थ भई विदेशी अस्पतालहरुमा अलपत्र छन, कानुनी परिबन्दमा फसी विदेशी कैदमा थुनिएका छन् र कैयौंको दुखःद निधन पनि भएका छन् । उनिहरुको हितलाई पक्षपोषण गर्न नेपालले गैरआवासीय नेपाली ऐन पनि ल्याएको छ । साथै, गैरआवासीय नेपालीहरुले नेपालको निर्वाचनमा मतदान गर्न पाउने गरी व्यवस्थाहरुको शुरुवात पनि भएको छ । अब एनआरएनहरुसंग जोडिएका यी सबै विषयबस्तुहरुलाई व्यवस्थित गरी उनिहरुको पीडामा मलहम लगाउने र नेपालको अर्थतन्त्रलाई धान्ने रेमिट्यन्सलाई पनि दिगो बनाउने गरी एनआरएनले पहिलेदेखि उठाउँदै आएको माग– एनआरएन मन्त्रालय, बनाउने कुरालाई प्राथमिकतामा राख्नु पर्ने बेला भएको छ । तसर्थ, म गैरआवासीय नेपालीहरुले एनआरएन मन्त्रालय स्थापना गर्न आवश्यक बन्दोवस्त गर्न एनआरएन आईसीसीमार्फत नेपाल सरकारसंग पहल गर्न र आफू बसेकै देशमा मतदान गर्न पाउने अधिकारलाई सुनिश्चित गर्न आवश्यक पहलकदमी लिने प्रतिबद्धता व्यक्त गर्दछु ।

(ख) नेपालको अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनको समस्या समाधानको अभियान
नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागले विभिन्न नीति, कानुन र व्यवस्थाहरु देखाई विदेश जानेआउने नेपालीहरुलाई अनावश्यक दुखकष्ट दिनेगरेको व्यापक जनगुनासाहरु आएका छन् । मेरो कार्यकालमा यसलाई सरलीकरण गर्न एनआरएनए आईसीसीमार्फत नेपाल सरकार र सम्बन्धित निकायसंग आवश्यक पहलकदमी गर्नेछु ।  साथै, गैरआवासीय नेपालीहरुलाई नेपालको विद्यमान अध्यागमन नीति नियमबारेको अध्यावधिक जानकारी दिने कार्यक्रमहरु सञ्चालन गर्ने योजना बनाएकी छु ।

६. सांगठनिक सुदृढिकरण र पारदर्शिताको सवालः हाम्रो एनआरएन राम्रो एनआरएन

(क) संघको दैनिक काम कार्यलयबाट सञ्चालन गर्ने- १४ वर्षको लामो ईतिहास बोकेको संघको व्यवस्थित कार्यालय नहुँदा यसको संस्थागत विकासले ठोस आकार लिन सकिरहेको छैन । मेरो कार्यकालमा यथाशिघ्र कार्यलय स्थापना गरी संघका सम्पूर्ण गतिविधिहरुलाई यहिमार्फत सञ्चालन गरिने छ ।

(ख) सदस्यताको व्यवस्थित अभिलेखिकरण- संघको सदस्यता बढाउने, सदस्यतालाई व्यवस्थित गर्ने र सदस्यता कार्डलाई यथाशिघ्र वितरण गर्ने छु ।

(ग) संगठनलाई व्यवस्थित गर्ने- संघको उद्देश्य अनुरुप कतिपय कामको तादम्यता मिलेको देखिदैन । यसलाई व्यवस्थित गर्न राष्ट्रिय महाधिवेसन सम्पन्न भएलगत्तै राष्ट्रिय समन्वय परिषदको मातहतमा रहेका विभिन्न विभागहरुको गठन, राज्यपरिषद, क्षेत्रीय परिषद, काउन्टीपरिषद र संघसंस्था समन्वय परिषदको भेला यथाशक्य छिटो गरिने छ ।

(घ) एनआरएन युकेको मुखपत्र प्रकाशन- संघको मुखपत्रलाई नियमित रुपमा प्रकासन गरिने छ । यसले संघको नियमित गतिविधिहरुको सूचना संघका सदस्य र आम जनमानसमा पुरयाउन मद्दत मिल्ने विश्वास लिएको छु ।

(ङ) आर्थिक पारदर्शीता र नीतिगत स्पष्टता- पुर्ववर्ती कार्यसमितिबाट के कति आम्दानी तथा उत्तरदायित्व हस्तान्तरण गरियो त्यसलाई सार्वजनिक गरिने छ । पुरै कार्यकाल भरी आर्थिक बिनियम बनाई सोही आर्थिक विनियम भित्र रही आम नेपालीबाट संकलित पेनी पेनीको आम्दानी खर्चलाई व्यवस्थित गर्ने परम्परा बसालिने छ ।

अन्तमा, म आफ्नो कार्यकाललाई सम्पूर्ण नेपाली समुदायको हित र प्रतिष्ठाको लागि समर्पित गरी हाम्रो एनआरएन राम्रो एनआरएन बनाउने प्रतिवद्धता व्यक्त गर्दछु । यहाँहरुबाट विगतमा जस्तै यसपटक पनि अपार माया र सहयोग पाउने पूर्ण विश्वास लिएकी छु र अध्यक्ष पदमा अत्यधिक मतले विजयी गराईदिनुहुन हार्दिक अनुरोध गर्दछु । धन्यवाद ।

श्रीमती पुनम गुरुङ
बेजिङ्गस्टोक, ह्यामसायर
२३ जुन २०१९

Leave a Reply

Your email address will not be published. Required fields are marked *