लन्डनमा पशुपतिनाथ मन्दिरको नयाँ भवन राजदूत आचार्यले गरे उद्घाटन-यस्तो देखियो भिडियो सहित

प्रकास कंडेल/ शिब भण्डारी

लण्डन । बेलायतको साउथ ईस्ट लण्डनको प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिरको नयाँ भवन उद्घाटन गरिएको छ । शुक्रवार जनैपूर्णिमा पर्वको अवसर पारेर बेलायतका लागि नेपाली राजदुत महामहिम ज्ञानचन्द्र आचार्यले रिबन काटेर मन्दिरको उद्घाटन गरेका हुन् ।

उदघाटन कार्यक्रममा बोल्दै राजदुत आचार्यले बेलायतमा पशुपतिनाथ मन्दिरले नेपालीहरुलाई धार्मिक र सांस्कृतिक आस्थामा जोडेको बताए । उनले नेपाल सांस्कृतिक एवम् धार्मिक विविधता भएको देश रहेको भन्दै बेलायतमा समेत पशुपतिनाथ मन्दिरको स्थापना अझै नयाँ घर खरिद गरेर समाजमा उदाहरणीय कार्य गरेको बताए ।

उद्घाटन कार्यक्रममा बेलायतका लागि नेपाली राजदुत आचार्यसगैं दुतावास परिवार र स्थानीय सामाजिक व्यक्तित्व र मन्दिरका पदाधिकारी तथा श्रद्धालु भक्तजनहरुको उपस्थिति रहेका थिए ।

पुरानो मन्दिर रहेको छेवैमा एक ‘रेसिडेन्सियल बङ्लो’ तीन लाख ७० हजार पाउन्डमा खरिद गरिएको थियो । उक्त खरिद गरिएको मन्दिरको उद्घाटन भएसगैं मन्दिर भक्तजनकालागि समेत प्रवेश खुल्ला गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दासुराम पाण्डेले लण्डन नेपाल न्यूजलाई जानकारी दिए ।

मन्दिरले खरिद गरेको नयाँ भवनलाई दिर्घकालमा आवश्यकताअनुरुप मन्दिर बिस्तारका लागि उपयोग गर्ने योजना समितिको रहेपनि तत्काल भने नियमित आम्दानी सुरु गर्नेगरी भाडा प्रयोजनको लागि दिईने छ ।

मन्दिरका मूल पण्डित निलहरि घिमिरेको पुजा पाठ तथा अन्य धामिर्क कार्य सम्पन्न गरेर मन्दिर प्रवेश गरिएको हो ।

रक्षा-बन्धन पनि मनाईयो

यसैबीच श्रावण शुक्ल पूणर्िमाका दिन मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवम् जनैपूणर्िमा पर्व आज मनाइँदैछ ।

लण्डनको पशुपतिनाथ मन्दिरमा बिहान ७ बजेदेखि नै रक्षाबन्धन सुरु भएको थियो । मन्दिरको दर्शन गर्ने स्थानीय भक्त जनहरुले पुरोहित निलहरि घिमिरेबाट रक्षाबन्धन बाँधेका हुन् । बिहानैदेखि सयौंको संख्यामा स्थानीय नेपालीहरुले मन्दिरमा आएर रक्षाबन्धन गरेको पुरोहित घिमिरेले बताए ।

आजै बेलायतका अन्य स्थानका नेपालीहरुले पनि सामुहिक रुपमा स्थानीय मन्दिरहरुमा रक्षाबन्धन तथा जनैपूर्णिमा मनाएका छन् । मन्दिरमा विभिन्न समाजका व्यक्तिहरु, भक्तजनहरु र रक्षाबन्धन बाँध्न र मन्दिर दर्शनका लागि जानेहरुको घुँईचो लागेको थियो ।

 

हेर्नुस पुरा भिडियो