‘संविधान कार्यान्वयनका लागि एकता आवश्यक’

Prachanda-1दोलखा- एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान कार्यान्वयनका लागि सबैपक्षबीच एकता आवश्यक रहेको बताएका छन् ।
दोलखाको चरिकोटमा बुधबार आयोजित एक कार्यक्रममा प्रचण्डले चाँडै राष्ट्रिय एकताको वातावरण तयार हुने र संविधान कार्यान्वयनको बाटो सहज हुने बताएका छन् । उनले असोज ३ गते जारी भएको संविधान गतिशील र परिवर्तनकारी रहेको उल्लेख गरे ।
लालपूर्जा नभएका भूकम्प प्रभावितहरुलाई आवास अनुदान नदिइएको भन्ने गुनासोबारे सम्बन्धित निकायहरुसँग छलफल गर्ने र माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको काम द्रुतगतिमा अघि बढाउन सरकारसँग छलफल गर्ने आश्वासन प्रचण्डले दिएका छन् ।
दोलखाबाट पुनर्निर्माणको काम सुरु भएपनि भूकम्पपीडित जनताले राहतमा अफ्ठ्यारा भोग्नु परेको भन्दै उनले लालपुर्जा राखेर राहत लिनुपर्ने व्यवस्थालाई परिवर्तन गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।
उनले काठमाडौ फर्किएलगत्तै राहत तथा पुनर्निर्माण कार्यविधिलाई संसोधन गरेर जनतालाई छिटोभन्दा छिटो राहत पुर्‍याउन लागिपर्ने प्रतिबद्धता जनाए ।