अष्ट्रेलियामा नेपाली राजदुत पोखरेल र एनआरएन बीच उच्चस्तरीय भेटघाट, कसले के भने त ?

तक्दीर अधिकारी

सिड्नी । अष्ट्रेलियाका नवनियुक्त नेपाली राजदुत कैलाशराज पोखरेल र गैर आवासीय नेपाली सघं (एनआरएनए) अष्ट्रेलियाका पदाधिकारीबीच भेटघाट भएको छ ।

राजदुत पोखरेलको नियमित कार्यतालिका अनुसार ओहोदाको प्रमाणपत्र पेश गरेपछिको यो पहिलो भेटघाट हो । भेटघाटमा एनआरएनएबाट सहभागी नेताहरुले सिधा हवाई यातायात, विद्यार्थीहरु समस्या तथा पोसपोर्ट लगायतका विषयमा ध्यानाकर्षण गराएका थिए । सो अवसरमा एनआरएनएले गरिरहेका कार्यहरुका विषयमा राजदुतले जानकारी लिएको राजदुतावासका उपनियोग प्रमुख कुल बहादुर थापा मगरले जानकारी दिए ।

त्यस्तै कार्यक्रममा प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट नागरिकता विधेयक पास भएकोमा खुसी व्यक्त गरिएको थियो । छलफलमा एनआरएनएसगं कसरी सहकार्य गर्ने, नेपालमा लगानीको वातावरण बनाएर अन्तराष्ट्रिय पैसा भित्र्याउने, हुन्डी कारोबारलाई निरुत्साहित गरी कानुनी रुपमा पैसा पठाउन प्रोत्साहन गर्ने लगायतका विषयमा छलफल तथा ध्यानाकर्षण भएको थियो ।

दुतावासले अनलाईन पासपोर्ट सेवाको पनि शुभारम्भ हुन लागेको जानकारी गराएको थियो । छिट्टै नै एनआरएनएसगं सहकार्य गरेर पासपोर्ट सम्बन्धी सेवा दिईने जानकारी दुतावासले गराएको थियो । एनआरएनए नेपाल सरकार सगं दर्ता भएको संस्था भएकाले नजिकबाट सहकार्य गरेर अगाडी बढ्ने दुतावासले प्रतिबद्धता व्यक्त गरेको बताईएको छ ।

छलफल कार्यक्रममा एनआरएनए अष्ट्रेलियाका पदाधिकारीले पछिल्लो समय विद्यार्थीहरु मानसिक समस्यामा पर्ने र विभिन्न अपराधिक क्रियाकलापमा संलग्न हुने क्रम बढिरहेकाले अभिभावक र विद्यार्थीलाई सचेतनाको कार्यक्रम गर्नुपर्ने बताए ।

भेटघाट कार्यक्रममा राजदुत पोखरेलसगैं, उपनियोग प्रमुख थापा मगर, प्रथम सचिव निर्मल भट्टराई, तृतीय सचिव यादव कोईराला तथा एनआरएनएका विभिन्न व्यक्तित्वहरु सहभागी थिए ।

कार्यक्रममा एनआरएनए अष्ट्रेलियाका अध्यक्ष नन्द गुरुङ, एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष तथा न्यू साउथ वेल्स राज्य परिषद सयोंजक देव गुरुङ, महासचिव राजु अधिकारी,एसीटी सयोंजक अशोक बस्नेत, ताज्मानिया सयोंजक राकेश शाक्य,आईसीसीबाट सह-महासचिव गणेश केसी, सचिव अभिमन्यु बस्नेत, आईसीसी सदस्यमा बुद्धि दल्लाकोटी,प्रिया अधिकारी,प्रज्ववल भट्टराई,रिजनल कोअर्डिनेटर दिनेश राज जोशी लगायतको सहभागीता रहेको थियो ।

राजदुत पोखरेलले २५ जुलाईमा ओहोदाको प्रमाणपत्र पेश गरेको दिन जनरल काउन्सिलरहरुसगं पनि भेटघाट गरेका थिए । यस पश्चात पत्रकारहरु तथा समाजका अगुवाहरुसगं भेटघाट गर्ने कार्यतालिका रहेको उपनियोग प्रमुख थापाले लण्डन नेपाल न्यूजलाई जानकारी दिए ।