काठमाडाैं । नेपाली चलचित्र एवं म्युजिक भिडियोका वरिष्ठ छायाँकार एवं फोटोग्राफर विदुर पाण्डेको हृदयघातका कारण निधन भएको छ ।
बुधवार बिहान गंगालाल अस्पतालमा उनको निधन भएको चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले जानकारी दिए ।
स्वास्थ्यमा असहज भएपछि उनलाई अस्पताल लगिएको थियो । प्राविधिक संघका अध्यक्ष लामाका अनुसार पाण्डेको पार्थिव शरीरलाई अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिएको छ । अन्तिम श्रद्धाञ्जलि दिन अहिले चलचित्रकर्मी र आफन्त आर्यघाटमा उपस्थित छन् ।
पाण्डेले थुपै्र नेपाली चलचित्रमा छायाँकारको रूपमा काम गरेका छन् । कागबेनी, स्वर, भूइँमान्छे लगायत उनले छायांकन गरेका चलचित्रहरू छन् ।
‘कागबेनी’लाई पहिलो नेपाली डिजिटल चलचित्र मानिन्छ । टेलिभिजनमा समेत काम गरेका पाण्डेले ‘तिमी आउँछौं भने मेरो दुनियाँ बेग्लै छ’, ‘माया साह्रै महंगो’, ‘थाप न थाप हातैमा’ लगायतका थुप्रै चर्चित गीतको भिडियो छायांकन गरेका छन् ।
उनको निधनमा चलचित्र एवं सांगीतिक क्षेत्रका थुप्रैले श्रद्धाञ्जलि व्यक्त गरिरहेका छन् ।






