चालक दलसहित २२ जना बोकेको तारा एयर सम्पर्क बिहिन

काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको एउटा जहाज सम्पर्कविहीन भएको छ ।

पोखरा विमानस्थलबाट आइतबार बिहान ९ बजेर ५५ मिनेटमा १९ जना यात्रु लिएर जोमसोमका लागि उडेको ट्‍वीनअटर जहाज सम्पर्कविहीन भएको हो ।

विमानमा तीन जना चालक सदस्य रहेका छन् । २२ जनामध्ये ४ जना महिला रहेका छन् । चालक दलको सदस्यमा प्रभाकर घिमिरे पाइलट, उत्सव थापा को-पाइलट र एअर होस्टेज किस्मी थापा रहेका थिए ।

जहाज उडेको १५ मिनेटपछि सम्पर्कविहीन भएको जानकारी आएपछि नागरिक उड्डयन प्राधिकरण खोजी कार्यमा लागेको तारा एयरका उडान सुरक्षा प्रमुख एवम् प्रवक्ता सुदर्शन बर्तौलाले बताए ।

सूचना लगत्तै नागरिक उड्डयन प्राधिकरण र कम्पनीका प्राविधिक टोली जहाजको अवस्था खोजी गरिरहेको प्राधिकरणले जनाएको छ । विमानमा तीन भारतीय सहित ६ जना विदेशी रहेका छन् । १३ जना नेपाली यात्रु सवार छन् । तीन जना विमानमा यात्रुदलका सदस्य रहेका छन् ।

नाइन एन-एइटी कलसाइनको जहाज सम्पर्कविहीन भएपछि खोजी कार्य सुरु गरिसकेको पोखरा विमानस्थलका महाप्रबन्धक विक्रम गौतमले बताए ।