काठमाडौं– संविधान संशोधनक विधेयक अगाडि बढाउने विषयमा छलफल भइरहेकाबेला ‘फ्लोर क्रस’को चर्चा भइरहेको छ ।
संविधान संशोधन विधेयक असंवैधानिक रहेको भन्दै महिनौंदेखि रोकिरहेको एमालेलाई एउटा आरोप छ– विधेयकको पक्षमा एमालेकै सांसदले फ्लोर क्रस गर्छन् । अझ राजनीतिमा साम दाम दण्ड भेद प्रयोग गर्न सिपालु कांग्रेस सभापति शेरबहादुर देउवाले ‘महाकाली सन्धी त पास गरें, संविधान संशोधन सजिलै पास गर्छु’ भनेपछि शंकालाई बल मिल्यो ।
त्यसै पनि झिनो संख्याले एक तिहाई बढी सांसद रहेको विपक्षी गठबन्धन तोड्न सक्ने सत्तापक्षको तयारी भइरहँदा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले ठाडै अस्वीकार गरे । ‘एमालेका एक जना सांसद पनि तलमाथि हुन सक्दैनन्, यो कल्पना पनि नगर्नुस्,’ नेपालले भने, ‘बरु सत्तापक्षका सांसद नै संशोधनको विपक्षमा आउँछन् ।’
नेपालको भनाइ, कांग्रेसका चन्द्र भण्डारी र माओवादी केन्द्रका टोपबहादुर रायमाझीतिर केन्द्रित थियो । एमालेको अगुवाईमा भएको ५ नम्बर प्रदेश सिमांकन हेरफेरविरुद्धको आन्दोलनमा भण्डारी र रायमाझी सामेल छन् ।






