लन्डन । नेपलिज सेफ एसोसिएसन यूकेको अधिवेशन आगामी जुन ६ तारिख हुने भएको छ । सो अधिवेशनले नयां नेतृत्व घोषणा गर्नेछ । बेलायतस्थित नेपाली सेफहरुको साझा उक्त संस्थाको नयां कार्यसमिति चयनका लागि सोलिसिटर राजु थापालाई निर्वाचन संयोजक तोकिएको अध्यक्ष दधि आचार्यले जनाए ।
निर्वाचन संयोजक थापाले छिट्टै निर्वाचन नियमावली र प्रक्रिया सार्वजनिक गर्ने बताए । एसोसिएसन अध्यक्ष आचार्यले विगतमा एसोसिएसनमा सर्वसम्मत नेतृत्व चयन गरिएकाले यो पटक पनि सर्वसम्मत नयां नेतृत्व चयन हुने आशा व्यक्त गरे । सन् २०१२ मा स्थापित उक्त संस्थाले बेलायतमा रहेका नेपाली सेफहरुलाई एकतावद्ध गरि उनीहरुका हकहित एवं नेपालमा परोपकारी कार्य गर्दै आएको छ ।
संस्थाले धादिङको निलकण्ठ १४ स्थित तमैरातमाटे माध्यमिक विद्यालयमा पुस्तकालय निर्माणका लागि १० लाख रुपैंया पठाएको थियो भने कोभिड महामारीका बेला अक्सिजन कन्सन्ट्रेटर किन्न पनि सहयोग गरेको थियो । एसोसिएसनले बेलायतका अन्य संघसंस्थासंग समेत सहकार्य गरि विभिन्न कार्य गर्दै आएको छ ।






