नाम्दु, १५ जेठ । भूकम्पले घर लड्यो, भएभरको अन्न घरमै पुरियो । खाने एक दाना अन्न छैन्, दिनभर भूकम्पको डर, रातभर हावाहुरीको चिन्ता’ नाम्दु–१ भीरगाउँकी बुथी दमाईंले यस्तो पीडा सुनाउनुभयो । यतिबेला यस्तै पीडाले सताएको छ दोलखा नाम्दुका भूकम्प पीडितलाई । राहतको नाममा पाएको एउटा त्रिपालमा रात बिताइरहेकी बुथीलाई सहयोगी हात भेटिएला भन्ने लागेको थिएन । भूकम्पले लडाएको घरमा त्रिपाल हालेर बसेकी उनको घरमा लगाएको त्रिपाल हावाहुरीले उडाएपछि उनलाई थप पीडा थपिदिएको छ । भूकम्पले दोलखाको नाम्दुमा दर्जनौँ घर भत्किए, सयौँ परिवार विस्थापित भए ।
तर बुधबार उनको अनुहारमा हाँसो थपियो, भूकम्पले निराश बनाएको परिवारमा एकाएक हौसला थपियो । दक्षिण कोरियामा बस्ने इलामे युवाको संस्था “इलाम सूर्याेदय सेवा समाज दक्षिण कोरिया” ले चामल दिएर उनको अनुहारमा हाँसो थपिदिएको हो ।
सरकारले दिएको राहत त पाएकै छैनौँ, तर विदेशमा बस्ने इलामे दाजुभाइले हामीलाई सम्झिए, बुस्तीकी गोमा दाहालले भनिन् । “जिल्लाले नदेखे पनि बाहिरकै जिल्लाका दाजुभाइले हामीलाई सम्झिए, यसैमा हामी खुसी छौँ ।”
दोलखाको नाम्दु गाविसका भूकम्पपीडितलाई इलामे युवाले विदेशमा खाई नखाई जम्मा गरेको करिब रु डेढ लाख मूल्य बराबरको राहत सामग्री वितरण गरियो ।
विदेशमा बसेका इलामे युवाले सक्रियताका साथ सङ्कलन गरेको राहत लिएर नाम्दु पुगेका रासस इलामका प्रतिनिधि गोविन्द लामिछानेले पीडितलाई राहत वितरण गरेपछि स्थानीय हरिबहादुर विश्वकर्माले भन्नुभयो “राहत भनेको त यस्तो पो हुन्छ, कसैले त राहतको नाममा कुहिएको चामल दिए, कसैले एक मुठ्ठी तीता चिउरा ।” यहाँका २०० भन्दा बढी घर परिवारलाई सोना मन्सुली चामल, तेल, नुन र साबुन वितरण गरिएको छ ।
अहिलेसम्म राहत नपाएको गुनासो आएपछि इलामे युवाले सङ्कलन गरेको दुई चार पैसाबाट नाम्दुका सुवेदी टोल, दाहालगाउँ, भीरगाउँ, बुस्तीलगायतका गाउँका पीडितले सो राहत पाएपछि खुसी भए । भूकम्प र हुरीबतासको त्रासका कारण यस गाउँका बासिन्दा झनै त्रसित बनेका छन् । “आज मरिने हो की भोलि मरिन्छ कुनै टुङ्गो छैन्”, “बाँचुञ्जेल एक पेट खान पायौँ, हामी नाम्दुवासीमा खुसी छाएको छ, विश्वकर्माले आफ्नो भनाइ यसरी सुनाउनुभयो ।”
राहत थोरै भए पनि बुस्तीका पीडितले जति भए पनि बराबरी बाँड्ने गरेका छन् । आफ्नो समूहमा परेको राहतलाई मिलिजुली बाँडफाँड गरेर जति परेपनि खुसीका साथ लिने गरेका छन् ।वास्तविक पीडितले राहत पाउन भनेर कोरियामा काम गर्ने इलामे युवाले सङ्कलन गरेर भूकम्प प्रभावित जिल्ला दोलखा पठाइएको समाजका अध्यक्ष हरि खनालले बताउनुभयो । नेपालीलाई परेको दुःखमा केही गर्न नसके पनि घाउमा मल्हमपट्टी गर्न केही राहत पठाइएको खनाल बताउनुहुन्छ । यसअघि पनि ताप्लेजुङका अग्नि पीडितलाई यही संस्थाले रु ८५ हजार राहत प्रदान गरेको थियो ।
नाम्दुवासीलाई कोरियामा बस्ने इलामेको सहयोग






