सिड्नी । अस्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरुले भोग्नुपरेका समस्या र निराकरणका लागि सवाल जवाफ सहितको अन्तरक्रिया कार्यक्रम हुने भएको छ ।
लाहुरे टेलिभिजनको आयोजनामा सिभिक थिएटरमा यही मार्च १८ गते हुने कार्यक्रममा विद्यार्थीका सम्पूर्ण गुनासा र प्रश्नहरुको सरोकारवाला तथा विज्ञहरुले जवाफ दिनेछन् । बेलुकी ६ बजेदेखि १० बजेसम्म ३ घण्टा अन्तरक्रिया सहितको ‘यक्ष प्रश्न’ कार्यक्रम आयोजना गरिएको छ ।
कोरोना महामारीपछि अस्ट्रेलियामा नेपाली विद्यार्थीहरुका लागि अध्ययनका सम्भावना, अवसर र चुनौतीका विषयमा रहेर छलफल हुने लाहुरे टेलिभिजनका सञ्चालक जिवन डिसीले जानकारी दिए ।
विद्यार्थीहरुले भोग्नुपरेका कठिनाई तथा विभिन्न अज्ञानता र समग्र विषयमा सरोकारवालाहरुलाई सोझै प्रश्न गर्न सक्ने भएकाले कार्यक्रम उपलब्धिमूलक रहने अपेक्षा गरिएको डिसीले बताए । ‘यस्ता खालका कार्यक्रमले ठुलो महत्व राख्ने भएपनि प्राय धेरैले चासो दिँदैनन्,उनले भने नेपाली विद्यार्थीहरुलाई यहाँको समग्र वस्तुस्थितिको पनि जानकारी दिने र स्वयं आफुले भोगेका समस्याहरु बिसाउने थलो भएकाले कार्यक्रमले महत्वपूर्ण जानकारी प्रदान गर्ने छ, उनले भने ।’
कार्यक्रमलाई पछिल्लो समय नेपाली टेलिभिजन क्षेत्रमा खरो प्रश्नकर्ताका रुपमा परिचित हिमालय टेलिभिजनको कार्यक्रम ‘यक्ष प्रश्न’का सञ्चालक राजेन्द्र बानियाँले सहजीकरण गर्नेछन् ।
कार्यक्रममा एनआरएन अस्ट्रेलिया अध्यक्ष नन्द गुरुङ,अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्यका महावाणिज्य दूत दिपक खड्का,सफल युवा उद्यमी ज्ञानेन्द्र कार्की र शैक्षिक परामर्शदाता सहित केही ऐजेन्टहरु जवाफदेही वक्ताको रुपमा उपस्थित हुदैछन् ।
नयाँ कुराको जानकारी पनि हुने र आफ्ना गुनासा र सुझावहरुसमेत राख्न सकिने भएकाले कार्यक्रममा उपस्थित हुन डिसीले सबैलाई आग्रह समेत गरेका छन् । अध्ययन लगायत अन्य जुनसुकै क्षेत्रका बारेमा विज्ञहरुलाई प्रश्न गर्ने र जवाफ खोज्ने कार्यक्रम रहेकाले यसलाई निकै महत्वका साथ आयोजकले हेरेको छ ।






