काठमाडाैं : नेपाली बजारमा अमेरिकी डलरको भाउ अहिलेसम्मकै महँगो भएको छ ।
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि अमेरिकी मुद्रा (डलर)को बिक्रीदर १२३ दशमलव ४४ रुपैयाँ र खरिददर १२२ दशमलव ८४ रुपैयाँ निर्धारण गरेको थियो । यो भाउ अहिलेसम्मकै उच्च खरिद बिक्री दर हो।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेका कारण अमेरिकी डलर महँगिएको हो । कच्चा तेलको मूल्य बढेसँगै अन्तर्राष्ट्रिय बजारमा डलरको माग बढ्ने नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार रुस-युक्रेन युद्धको असरका कारण भारतीय मुद्रा कमजोर हुँदै गएको छ ।
भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्छ । नेपाली मुद्राको भारतीय रूपैयाँसँग स्थिर विनिमय दर छ । डलरको तुलनामा भारु खस्किँदा नेपाली रुपैयाँको मूल्यसमेत कमजोर हुँदै गएको हो । यसले मुलुकको रेमिट्यान्स आय भने बढ्छ । तर, अधिकाश वस्तु आयातमै निर्भर हुनु परेकाले डलरको भाउ आकासिएसँगै नेपालले ठूलो नोक्सानी खेप्नुपर्ने हुन्छ।
डलरको भाउ बढ्दा विदेशमा काम गर्ने नेपालीले पठाउने पैसा रेमिट्यान्स आय भने केही बढ्छ । डलरको भाउ बढेको बेलामा रेमिट्यान्स पठाउनेले बढी मूल्य पाउँछन् । तर, सबै देशमा काम गर्ने कामदारले डलरको मूल्यवृद्धिबाट यस्तो फाइदा लिन भने सक्दैनन् । राजधानी दैनिकमा मधुजंग पाण्डेले खबर लेखेका छन् ।






