कहिले उड्ला गुल्मीबाट जहाज ?

गुल्मी । गुल्मीको रेसुंगा नगरपालिका-१० सिमीचौरमा निर्माणाधिन रेसुंगा विमानस्थलको काम अन्तिम चरणमा पुगेको छ । २०७५ सालमै परिक्षण उडान गरिएको विमानस्थल निर्माण कार्यले पछिल्लो समय निकै तिब्रता पाएको छ ।

रेसुंगा विमानस्थल निर्माणको काम ०६३ सालमा तत्कालीन पर्यटनमन्त्री प्रदीपकुमार ज्ञवालीले गरेका थिए । शिलान्यासपछि थुप्रै वर्ष कुनै काम भएन । औपचारिक रूपमा ०७२ सालबाट विमानस्थल निर्माणको काम नियमित रूपमा भएको छ ।

अहिलेसम्म ८० प्रतिशतभन्दा बढी काम सकिएको निर्माण कम्पनीले जनाएको छ । अहिले धावनमार्ग कालोपत्रे र टर्मिनल भवन तथा कन्ट्रोल टावर निर्माणको काम भइरहेको छ । विमानस्थलको टर्मिनल भवन र कन्ट्रोल टावर निर्माणका लागि बिकोई श्रेष्ठ जेभीले ४ चैत ०७६ मा चार करोड पाँच लाख २९ हजार ६ सय १० रुपैयाँमा सम्झौता गरेको छ ।

धावनमार्ग निर्माणको काम भने रौताहा हरिहरि जेभीले सात करोड २५ लाख रुपैयाँमा गरिरहेको छ । धावनमार्ग पाँच सय २० मिटर लम्बाइ र २० मिटर चौडाइको रहेको छ । त्यस्तै, विमानस्थल घेराबारको काम सकिएको छ ।

मौसम हरिश निर्माण सेवा डोल्पाले १६ पुस ०७६ मा ९१ लाखमा घेराबारको काम गरेको विमानस्थल सहायक आयोजना प्रमुख इन्जिनियर दिनेश परियारले जानकारी दिए । आगामी वैशाखबाट नियमित उडान गर्ने गरी काम भईरहेको वडाध्यक्ष पदम प्रसाद पाण्डेले जानकारी दिए ।