काठमाडौं । प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विप्लव समूह र सरकारबीच तीन बुँदे सहमति भएको छ ।
बालुवाटारमा बिहीवार बिहान भएको तेस्रो चरणको वार्तामा ३ बुँदे सहमति भएको वार्ता टोलीका सदस्य तथा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिए ।
सरकारले विप्लव समूहमाथि यसअघि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ।
सहमतिअनुसार विप्लव समूहका नेताकार्यकर्ताहरू माथि लगाएका मुद्दा फिर्ता गर्ने भएको छ भने विप्लव समूहले आफ्नै सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रूपमा गर्न सहमति भएको छ। सहमतिको विस्तृत विवरण शुक्रबार सार्वजनिक गरिने भएको छ ।
सरकार र विप्लव नेकपाबीच बुधवारदेखि वार्ता भइरहेको थियो । बालुवाटारमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ नेतृत्वको सरकारी वार्ता टोलीले विप्लवका प्रतिनिधिसँग वार्ता गरेको थियो ।
विप्लव नेकपाको तर्फबाट नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले वार्ता टोलीको नेतृत्व गरेका थिए । बिहान ९ः२० बजेदेखि वार्ता शुरू भएको थियो ।
सरकारी वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई र विप्लवको टोलीमा उदयबहादुर चलाउने ‘दिपक’ सदस्य रहेका छन् ।
यसैवीच प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द विप्लवले एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्ने भएका छन् ।
फागुन २१ गते दिउँसो २ बजे विशेष समारोहलाई प्रधानमन्त्री ओली र नेकपा महासचिव विप्लवले सम्बोधन गर्ने कार्यक्रम रहेको भट्टराईले बताए । ।
राष्ट्रिय सभागृहमा विशेष समारोह आयोजना हुने छ ।
हेरौ सहमति







