नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन काठमाडौंमा शुरु हुँदै, सुरक्षा व्यवस्था कडा

काठमाडौं । नेकपा माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन आइतवार देखि सुरु हुँदैछ । नयाँ नेतृत्व चयन गर्ने महाधिवेशनका लागि देशभरका प्रतिनिधि राजधानी काठमाडौं आइसकेका छन् ।

आठौं महाधिवेशनमा परिवर्तन गरिएको प्रथम राष्ट्रिय सम्मेलनको कमलादीस्थित प्रज्ञा भवनमा आज दिउँसो ३ बजे उद्घाटन हुनेछ । माओवादी स्थायी समिति बैठकले सम्मेलनलाई शनिबारमात्रै महाधिवेशनमा रूपान्तरण गरेको थियो । महाधिवेशनमा रुपान्तरण गर्ने निर्णयलाई अनुमोदन गर्न अहिले ८ बजे केन्द्रीय समिति बैठक बस्ने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

सम्मेलनमा १६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन् । जसमा १४८ जना अध्यक्ष पुष्पकमल दाहालले मनोनित गरेका छन् । प्रवक्ता कृष्णबहादुर महराकाअनुसार महाधिवेशनमा दलका शीर्ष नेतालाई आमन्त्रण गरिएको छ । नेपाली कांग्रेस, नेकपा एमाले, जसपा, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, नेमकिपा, नेकपा माले, राप्रपालगायत दललाई निमन्त्रणा गरिएको छ ।

सुरक्षा व्यवस्था कडा 

आठौं महाधिवेशनलाई लक्षित गरी नेपाल प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ । उपत्यकाको सुरक्षा हेर्ने महानगरीय प्रहरी कार्यालय (मेट्रो) रानीपोखरीले शुक्रबारबाटै माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरक्षा बढाएको छ ।

कार्यक्रम स्थल प्रज्ञा प्रतिष्ठान क्षेत्रमा पनि उल्लेख्यमात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । मेट्रोका प्रहरी नायव महानिरीक्षक (डीआईजी) उत्तमराज सुवेदीले माओवादीको सम्मेलनका लागि पाँच सयभन्दा बढी प्रहरी जनशक्ति परिचालन गरिएको जानकारी दिए । ‘दिनअनुसार परिचालन हुन्छ । प्रत्यक्षरुपमा खटिने जनशक्ति पाँच सय प्लस हुन्छ,’ उनले भने, ‘ पेरिसडाँडामा छुट्टै टोली खटिएको छ । आवश्यकताअनुसार थपिँदै जान्छ ।’

‘उद्घाटन सत्रमा आउने भीआईपीहरुदेखि लिएर कार्यक्रमस्थलको सुरक्षा व्यवस्था मिलाइएको छ । बन्दसत्रका लागि पनि मिलाइएको छ,’ डीआईजी सुवेदीले थपे, ‘यसबाहेक थप हुनसक्ने अप्रिय गतिविधिलाई मध्यनजर गर्दै जनशक्ति परिचालन गरिएको छ ।’ उनकाअनुसार सम्मेलनको सुरक्षाका लागि सीसीटिभी निगरानीदेखि कुकुर परिचालनसम्म गरिएको छ ।

माओवादी महाधिवेशनलाई लक्षित गरी महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट ट्राफिक व्यवस्थापन पनि मिलाएको छ । ‘मान्छे र गाडीको मुभमेन्ट हुने प्रज्ञा भवन, कमलादी वरिपरीको क्षेत्रमा थप ट्राफिक र ट्राफिकलाई सपार्ट गर्न सिभिल पुलिस पनि खटाएर व्यवस्थापन गरिएको छ,’ सुवेदीले भने ।

पार्किङस्थल प्रज्ञा प्रतिष्ठानको कम्पाउण्ड, पश्चिम एरियातिर पार्किङको व्यवस्था गरिएको छ । ‘धेरै भीडभाड नगर्ने र नेता कार्यकर्ता तथा केही पाहुनामात्र आउनेमात्र आउने भन्ने भएको हुनाले त्यति समस्या नहोला । यद्यपि मुभमेन्ट बढ्दै गए खुला मञ्चमा राख्छौं,’ उनले भने ।