बेलायतमा बढ्दै ‘ओमिक्रोन’ केसहरु, संक्रमितको संख्या १६० पुग्यो

लन्डन । बेलायतमा संक्रामक मानिएको कोभिडको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ को संक्रमण फैलिदैं गएको पाइएको छ ।

स्वास्थ्यमन्त्री साजिद जाविदले संक्रमितको संख्या बढ्दै जान थालेको भन्दै थप सतर्कताको जरुरी रहेको बताएका छन् ।

बेलायतमा हालसम्म नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ संक्रमितको संख्या १६० पुगेको छ । इंग्ल्याण्डमा १२९, स्कटल्याण्डमा २९ र वेल्समा एक जनामा नयाँ भाइरस फेला परेका छन्। नाइजेरियाबाट आएका २७ जना मानिसमा नयाँ भाइरस देखिएपछि यहि सोमबार बिहान ४ बजेबाट नाइजेरियालाई यात्रा प्रतिबन्धको ‘रेड लिस्ट’ मा राखिने भएको छ ।

यस्तै मंगलवारबाट यूके आउने यात्रुहरुले अनिवार्य रुपमा ४८ घण्टाभित्रको कोभिड परिक्षण गरेको प्रमाण पेश गर्नुपर्ने भएको छ । हालको नियम अनुसार बेलायत आएको दुई दिनसम्म सेल्फ आइसोलेशन बसेर नेगेटिभ परिणाम पेश गर्नुपर्नेछ । सो नियम १२ वर्ष वा सो भन्दा माथिका लागि लागू हुनेछ ।

दक्षिण अफ्रिकाबाट फैलिन शुरू गरेको ओमिक्रोन विश्वका चार दर्जन बढी देशमा पुगिसकेको छ भने भारतमा अर्को एक जनामा पनि कोभिडको ओमिक्रोन भेरियन्ट देखिएको छ । महाराष्ट्रका एक ३३ वर्षीय पुरुषामा ओमिक्रोन देखिएको हो । उनी हालै दक्षिण अफ्रिकाबाट मुम्बई आएका थिए । उनीसँगै भारतमा ओमिक्रोन भाईरसबाट संक्रमित हुनेको संख्या चार जना पुगेको छ । पेसाले समुद्री इन्जियर ती व्यक्तिले कोभिडको दुबै खोप लगाएका थिए । मुम्बई उत्रिएपछि उनलाई सामान्य ज्वरो देखिएको थियो । उनको मुम्बईस्थित कोभिड केयर सेन्टरमा उपचार भइरहेको छ ।

उनको सम्पर्कमा रहेका अन्य २३ जना यात्रुहरुको पनि कोभिड परीक्षण गरिएको छ। उनीहरु सबैको नेगेटिभ रिपोर्ट आएको प्राप्त समाचारमा जनाइएको छ । यसअघि जाम्बियाबाट फर्किएका एक व्यक्तिमा पनि ‌ओमिक्रोन भेरयन्ट देखिएको थियो ।